काठमाडौं, ११ मंसिर । नेपाल सरकारले पछिल्लो पटक १९ हजार मेट्रिक टन डीएपी र १० हजार मेट्रिक टन पोटास मल खरीद गरेको छ । भारतीय सप्लायर इन्डियन पोटास लिमिटेडमार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरीद गरिएको हो । दुवै मल कृषि सामग्री कम्पनीको भण्डारणमा आइपुगेको कम्पनीले जनाएको छ ।
यसबाहेक ३० हजार मेट्रिक मे।टन युरिया दुबईस्थित स्विस सिंगापुर सप्लायरमार्फत चीनबाट खरीद गरिएको छ । उक्त मल बोकेको पानी जहाज कलकत्ता आइपुगेको छ भने त्यहाँबाट रेलमार्फत कलकत्ताबाट नेपालतर्फ प्रस्थान गरिसकेको कम्पनीले जनाएको छ । जहाजमा ३० हजार मे।टन मल बोक्छ भने एउटा रेलले करिव २५ सय मे। टन मल ढुवानी गर्नसक्छ । यो सबै मल आउँन करिव ३ साता लाग्ने कम्पनीले जनाएको छ ।
यसैगरी ७५ हजार मे।टन डीएपी आउनेक्रममा रहेको छ भने थप ३० हजार टन डीएपी खरीद प्रक्रिया अघि बढाईको छ । त्यस्तै युुुरिया मल ५० मेटन पनि आउनेक्रममा रहेको छ भने ३० हजार मे।टनको खरीद सम्झौता भई एलसी खोल्नेक्रममा रहेको छ । थप ६० हजार मे।टन युरिया खरीदका लागि सप्लायरसँग सम्झौता गर्ने कार्य अघि बढाइएको छ । यी सबै मल आपूर्ति ग्लोबल टेन्डरमार्फत खरीद गरिएको हो ।
यी सबै मल प्राप्त भएपछि चालू वर्षमा कृषि सामग्री कम्पनीले ३ लाख ३५ हजार मे।टन मल आपूर्ति गर्ने कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन् । कम्पनीले हालसम्म प्राप्त गरेको र खरीद प्रक्रियामा रहेको मलबाट अहिलेको गहूँबाली तथा आगामी सिजनको बालिहरुका लागि मल अभाव नहुने कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । उनका अनुसार नेपालमा रासायनिक मल वर्षमा ८ लाख मे टन आवश्यक पर्ने भएता पनि प्रभावकारी माग भने ५ लाख मे।टन रहेको छ ।
नेपाल सरकारले मलका लागि विनियोजन गरेको कूल अनुदान बजेटको ७० प्रतिशत कृषि सामग्री कम्पनीलाई र बाँकी ३० प्रतिश बजेट साल्ट ट्रेडिङ कर्पोरेसनलाई प्रदान गर्दैआएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा। योगेन्द्रकुमार कार्कीले बताए । ती कम्पनीहरुले प्राप्त बजेटका आधारमा ग्लोबल टेन्डरमार्फत विश्व बजारबाट मल खरीद गर्दछन् । मल आउनेक्रम जारी रहेकाले अब मलको अभाव नहुने पनि डा। कार्कीले बताएका छन् ।
कृषि सामग्री कम्पनीले उन्नत जातको खाद्यान्न तथा तेलका लागि तोरीको बिउ उपलब्ध गराउँदै आएको छ । कम्पनीले माटो सुधारका लागि कृषि चून पनि बिक्रीवितरण गर्दैआएको छ ।