चितवन। प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान बिहीबार बिहान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ४ मा लु१च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे सडकबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खसेको हो।
त्रिशूलीमा खस्दा पिकअप भ्यानमा सवार चारमध्ये एक जना घाइते भएका छन्। तीन जना नदीमा बेपत्ता छन्। घाइते हुनेमा प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। यस्तै बेपत्ता हुनेमा प्युठानको झिम्रुक गाउँपालिका १ का २३ वर्षीय सूर्य केसी, ३३ वर्षीया जमुना रोक्का र बिरामी १५ वर्षीया जिनिसा रोक्का छन्। बेपत्ताको खोजी जारी छ।