धनगढी, ७ मंसिर- सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल विक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई रू। १ करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीतादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा बिहीवार आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा। किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित कार्यालयका नायव महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल विक्री गर्नेसम्बन्धी सम्झौता आदानप्रदान भएको छ ।
सम्झौताअनुसार कर्पोरेशनले विक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट कर्पोरेशनले तोकेको मूल्यभन्दा सहुलियत मूल्यमा विक्री गर्नुपर्नेछ । खेती गर्ने समयमा रासायनिक मल अभावको समस्या खेप्दै आएका किसानलाई सहुलियत मूल्यमा मलको व्यवस्था गरी राहत दिन प्रदेश सरकारले पहिलो पटक यो बजेट उपलब्ध गराउने भएको हो ।
कर्पोरेशनले डीएपी र युरिया मलका अलावा युरिया मलको विकल्पमा प्रयोग गर्न सकिने एमोनियम सल्फेट र डीएपी मलको विकल्पमा प्रयोग गर्न सकिने सिंगल सुपर फस्फेट मलसमेत विक्री गर्दै आएको छ । नेपाल सरकारले डीएपी र युरिया मलमा अनुदान दिए पनि एमोनियम फस्फेट र सिंगल सुपर फस्फेटमा अनुदान दिएको छैन, जसका कारण डीएपी र युरिया मलको तुलनामा यो मलको मूल्य केही महँगो पर्न गई आम किसानले खरीद गर्न सकिरहेका थिएनन् ।
‘किसानलाई सहुलियत मूल्यमा मल उपलब्ध गराई राहत दिन प्रदेश सरकारले ऐतिहासिक काम गरेको छ,’ कर्पोरेशनका नायव महाप्रबन्धक पाण्डेले भने, ‘अब प्रदेशमा मल अभाव हुँदैन ।’ सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रू। १ हजार, बोरोन मिश्रण भएको सिंगल सुपर फस्फेट रू। ९३० र जिंक मिश्रण भएको सिंगल सुपर फस्फेट रू। ९०० विक्री मूल्य निर्धारण गरिएको छ ।
कर्पोरेशनले अहिलेसम्म ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रू। १ हजार ४२६, बोरोन मिश्रण भएको सिंगल सुपर फस्फेट रू। १ हजार १६६ र जिंक मिश्रण भएको सिंगल सुपर फस्फेट रू। १ हजार १४६ मा अधिकृत विक्रेतामार्फत विक्री गर्दै आएको छ । हाल डीएपी र युरिया मलको अभाव भए पनि कर्पोरेशनसँग एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मल पर्याप्त मौज्दात छ । मल विक्रीको जिम्मा लिएको अर्को कृषि सामग्री कम्पनी लिमिटेडमा पनि हाल युरिया र डिएपी मलको अभाव छ ।
