पोखरा २ मंसिर-हिमपातका कारण बाटो अवरुद्ध भएपछि मनाङतर्फ हिँडेका पर्यटक आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन् ।पोखराबाट तिलिचो घुम्न गएका सातजना आन्तरिक पर्यटक र भारतको मुम्बईबाट तिलिचो पुगेर फर्केका कृष्ण क्षेत्रीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
तिहारको बिदामा तिलिचो ताल घुम्न आएका आन्तरिक पर्यटकलाई सशस्त्र प्रहरीले खाङ्साबाट उद्धार गरेको हो । सशस्त्र प्रहरी मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले आइतबारसम्म मौसम सफा भएर पर्यटक घुम्न निस्किए पनि सोमबार एक्कासि हिमपात भएपछि तिलिचो पुग्ने पर्यटक बीचबाटोबाट नै फर्किएका छन् ।डिएसपी पन्थीले सोमबार पौने १० बजे राति खाङ्साबाट हिमपातका कारण अलपत्र परेका पर्यटकलाई उद्धार गरेको जानकारी दिए ।
यस्तै सशस्त्रले तिलिचो जान निस्केका १५ जना पर्यटकलाई हिमपात भएकाले तिलिचो नजान अनुरोध गरी ढिकुरपोखरीबाट फर्काएको छ ।तिलिचो पुगेर फर्केका कृष्ण क्षेत्रीले बेसक्याम्पबाट सशस्त्र प्रहरीले उद्धार गरेको बताए । उनले समयमा नै उद्धार हुन सकेकाले जोगिएको बताए ।मनाङको मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा धेरै मात्रामा हिउँ परेको छ ।
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, खाङ्सार, घ्यारुलगायतका ठाउँमा हिउँ परेको छ ।यस्तै माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भएको छ ।
दुई हजार आठ सय मिटरदेखि माथिका क्षेत्रमा हिउँ परेको छ ।गत वर्ष भने मनाङमा मंसिर २७ गतेबाट हिउँ पर्न थालेको थियो ।यस वर्ष अलि चाँडैदेखि नै हिउँ पर्न थालेपछि चिसो बढेर मनाङको तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म पुगेको छ ।