- प्रमिला लम्साल धनगढी
म्यासेन्जरमा ढ्वाङ्ग आवाज आयो….निकै बेर हेरिँन । आफैँमा व्यस्त थिएँ । एकछिन पछि यसो म्यासेन्जर कोट्याएको अघिको म्यासेज साथी बेद जोशीको रैछ । के नै होला र ? सँधै आआफ्ना टिकटक बनाउँदै भिडियो आदान प्रदान गर्ने हामी त्यही टिकटक नै त होला नि भनेर अल्छी मान्दै म्यासेज खोली हेरेँ, खुशीको सिमा नै रहेन । मेरो साथी र उसकी धर्मपत्नीको अभिनय भएको साढे चार मिनेटको म्युजिक भिडियो रहेछ । उसको नाम देख्दा खुसी लागेको भिडियो हेर्दै जाँदा अभिनय बाहेक भने त्यस्तो खासै केइ पनि लागेन मलाई ।
खासमा मलाई छिट्टै गीतका शब्दले छँुदैनन पनि । सानै देखी बुवाको टेप रेकर्डरमा नारायण गोपाल, प्रेमध्वज प्रधान, धर्मराज थापा, मिरा राणा, राम थापा, तारा थापा, ज्ञानु राणा, कुमार बस्नेतका नेपाली गीत सुन्दै हुर्किएकी म । हिन्दीमा पनि महेन्द्र कपूर, लता मङ्गेस्कर, किशोर कुमार आदिका सदावहार गीतहरुले बाल्यकाल देखि नै मेरो मनमा डेरा जमाएका छन् । मन परेका गीत प्रायजसो म सामाजिक सञ्जालमा पोस्ट्याइ पनि हाल्छु ।
यो गीतलाई दोहोर्याइ तेहेर्याइ पनि हेरे, सुन्नु भन्दा पनि अभिनय नै हेरिरहेँ । गीतको शब्दमा त्यती ध्यान दिर्इँन जती उनीहरुको अभिनय ध्यान दिएर हेरिरहेकी थिएँ । व्यक्तिगत हिसाबले मलाई बेद र उनकी पत्नी बन्दनाको जोडी औधी मन पर्छ । म मात्र होइन प्रायः इष्टमित्र, परिवार, साथीभाइ सबैले उनीहरुलाई रुचाउँछन् । अभिनय सहित गीत हेर्दा हेर्दै सकिन्थ्यो म फेरी सुरुबाट हेर्थेँ । ह्या यसरी भएन, मोबाईलमा हेर्नुभन्दा ल्यापटपमै स्क्रीन फुल बनाएर हेर्छु भनेर ल्यापटप खोलेर बसँे । युट्युबमा गीत सर्च गरेँ, सोहिदिन रिलिजको हुनाले भेटाउन केही गाह्रो भो । एकछिन पछी भेटेँ । फुल स्क्रिन बनाएर सुरु देखि हेरिरहेकी थिएँ । गीत सकिएपछि पो थाहा पाएँ सो गीत साथी बेदको आफ्नै रचना रहेछ ।
ल्यापटप बन्द गरेर दुवै जना पति पत्नीलाई मैले म्यासेन्जरमा बधाई दिएँ । उता सामाजिक सञ्जाल फेसबुकमा पनि सबैले युट्युबको लिंक सेयर गर्दै दुवैलाई बधाईको ओईरो लगाएका थिए । यो पटक मलाई युट्युबको लिंक सेयर गरी सामाजिक सञ्जालमा दुई शब्दमात्रै लेखेर बधाई दिन मनै देखी इच्छा लागेन । हुन पनि हो उ त मेरो दौँतरी पो त । पहिल्यै देखी नै केही न केही बिशेष काम गर्नैपर्ने । हाम्रो उमेर समुह पनि एउटै । संगै पारिवारिक सम्बन्ध पनि जोडिएको । स्नातक पढ्दाको मिल्ने साथी ।
यो गीत सुन्दै हेर्दै जाँदा सरररर एकैपल्ट हाम्रा क्याम्पसे जीवनका दिनहरु मेरो स्मृति चक्रमा घुम्न थाले । पिरियड खाली हुनै नहुने हामी कहिले कबिता भन्ने, कहिले दोहोरी खेल्ने गथ्र्यौ । बेदको चाहीँ फेरी पारै बेग्लै हुन्थ्यो, आफँ रचना गर्नुपर्ने, मेरो सिर्जनात्मक साथी । अतिरिक्त क्रियाकलापमा माहिर उसलाई जित्न सकसै पथ्र्यो । पढाईमा नि उ अब्बलमै गनिन्थ्यो । क्याम्पसको वार्षिक उत्सव होस् अथवा पिकनिक अनी कहिलेकाहीँ हुने पारिवारिक जमघट नै किन होस् बेद आफँैले केही न केही रचना गरेर प्रस्तुत गर्नैपर्ने उसको स्वभाव ।
कैलाली बहुमुखी क्याम्पसको थर्ड इअरको बिदाइ समरोहमा आफैले स्वागत गीत रचना गरेको साथी आज हामी माझ सेलिब्रेटी भएर आएको भएर पनि मेरो मनमा खुशीको सिमा रहेन । दशैंको मुखैमा रिलिज भएको यो गीतका बारेमा तत्कालै दुईचार शब्द लेखौँ भन्ने त थियो तर भ्याइएन । कोरोना महामारीले गर्दा धेरै साथीहरुसँग भेट भएको पनि थिएन । प्रायः काठमाडौं मै थुनिएका थिए । यतै धनगढी मै भएका साथीहरुसँग पनि म भेट नगरी सामाजिक दुरी कायम गरेर बसिराखेको थिएँ । दशैं आएपछि सामाजिक दुरी कायम गर्दै भेटघाट चलिनै रह्यो । लेखन तिरै लाग्ने मेसो नै परेन ।
बीचबीचमा मनमनै के लेख्ने ? भनेर सोचिरहन्थेँ पनि । पेशाले साथी बेद नेपाल प्रहरीको नायब उपरिक्षक पदमा कार्यरत् छन् । राष्ट्रको उच्च पदमा आसिन एक इमान्दर सिपाही । गीत लेखि अभिनय गरिसकेर दशैंको मुखैमा शान्ति मिसनमा सुडान यात्रा पक्का भएछ, । त्यस समय मोबाईलमा म्यासेज आयो परी कता हो तिमी ? भनेर । मलाई सबैले यही नामले बोलाउँछन् । मेरो मिसन यात्रा पक्का भो नवमीको दिन सुडानको लागि उड्दैछु,, मिल्छ भने गेटा एअरपोर्ट आईराखन हामी घरबाट हिँड्न आँटेको । हुन्छ भनेर म नि साथीलाई बिदा गर्न एअरपोर्ट गए । प्लेन डिपार्टचर हुनै लागेको रहेछ । पाँच मिनेटको भेटघाट सकेर मन अमिलो हुँदाहुँदै पनि हँसिलो मुहारले बिदाइ गर्दै हामी फर्कियौँ । बाटोमा नि सोचेँ आज गएर लेख्न थाल्छु । सोच्ने मात्र हो फेरी मैले जीवन यस्तो भईसक्यो कि उठ्यो सामाजिक सञ्जाल, सुत्यो सामाजिक सन्जाल । अचेल हाम्रा लागि अक्सिजन नै यही हो कि झैँ छ । सामाजिक सञ्जाल चलाउन पाईएन भने स्वास पनि सहजै फेरिँदैन । एउटामात्रै हो र फेरी ? फेसबुक, टिकटक, ट्विटर, युट्युब के के हुन् के के लेख्ने काम फेरी भएन । यतिकैमा नवमीको दिन आयो म उडँे भनेर साथीको फोन आयो । फोनबाट शुभकामना र बिदाई । भोली पल्ट दशैं यतिकै दिन बिते ।
एकदिन यत्तिकै टिकाटक चलाइराथेँ, नोटिफिकेसन आयो । सोही गीतमा बनाएको भिडियोमा कसैको लाइक आएको रहेछ । मेरो जिन्दगीको माया खास हौ तिमी, सारा जीवन मग्मगाउने सुवास हौ तिमी । आहा सुनिरहेर होला अब त यो गीतका शब्द राम्रा लाग्न थालेछन् मलाई । त्यो साह्रै मिलेको जोडी । आफुले जसको लागि भनेर गीत लेखे उसैसँग अभिनय गरेर म्युजिक भिडियो बनाउने र जीवन भरिको लागि मिठो याद बनाउने उनको कार्यको जती तारिफ गरे पनि कम नै हुन्छ ।
बन्दना बेदकी अर्धाङ्गिनी । रुप जस्तै मन सुन्दर मन छ उनको । पति राष्ट्रको उच्च पदमा कार्यरत् छन् । उनको शालिनता र शुशिलता बयान गरि नसकिने छ । प्रायः काठमाडौँ जाँदा म उनीहरुकहाँ नै बस्ने गर्थेँ । उमेरले हामी भन्दा सानै भए नि सबै कुरामा निपुर्ण । दुई सन्तान (बियान्सा र बेदांशु) की आमा केटाकेटी हेर्दै बिस्तारैमा चिया ल्याउँथिन् । जसलाई जे मन पर्छ त्यही पाक्थ्यो भान्सामा । पति राष्ट्र प्रती इमान्दार भई कार्यरत् रहेझैँ उनी परिवार प्रति इमान्दार रही आफ्नो कर्तव्य पालना गरिरहेकी थिईन् । यता मुलघरमा पनि छोरी र बुहारीलाई समान रुपमा लिईने भएरै होला सबैसंग घुलमिल भएकी छिन् बन्दना । रत त्यसै बेदलाई बन्दना प्रति शब्द सिर्जना भएका हुन त ? ति शब्द सिर्जना गर्नलाई उसको त्याग, माया, ममता, कर्तव्य सबैको भुमिका उच्च थियो ।
मेरा लागि एउटा सफल जोडी हो बेद र बन्दनाको । हरेक पतिले पत्नीको त्यागका लागि उनलाई सम्मान गर्नुपर्छ । गीत मार्फत् आफु सफल हुनुमा पत्नीलाई प्रतिकात्मक शैलीले वर्णन गरेका छन । हरेक दुखसुखमा बन्दनाले बेदलाई साथ दिएको आभाष हुन्छ । हाम्रा पौराणिक ग्रन्थहरुमा स्त्री शक्तीको प्रमुखता भएको सुन्ने गरेका नै छौँ । त्यस्तै छ यो गीतमा बेदले बन्दना मार्फत नारीलाई गरेको माया अनि सम्मान । यो गीत सुनिरहँदा यसका शब्दले श्रोताको मन तान्दै लान्छ । अन्तिम अन्तरामा बिशेष गरी बेदले बन्दनाको मायामा फक्रिएर फुलेको र त्यही सुवासको मिठासले जीवन खास भएको भाव पोखेको लाइनले झन् धेरै मन छुन्छ ।
दर्शक श्रोताका माझमा प्रेरणा दिने गीत छ । सर्मपणमा कोरिएका शब्द, सात जुनीको कसम खाएको जोडीको अभिनय अचेल गज्जब लाग्छ मलाई । पहिला मन नलाई नलाई साथीको भएर हेरेकी मैले अचेल यो गीत दैनिक जसो ठुलै स्वरमा घन्काउँदै सुन्ने गरेको छु । हुन त यसरी गीतको समिक्षा गर्न मेरो ल्याकतले भ्याउँदैन तर एउटा मेरो यस्तो साथी हिजोका दिनमा कलाकारिता क्षेत्र तिर जाला भन्ने सबैले अड्कल काटेपनि एक्कासी नेपाल प्रहरीको जागिरे होला भन्ने सोचेका पनि थिएनौँ ।
जागिर जुन क्षेत्रको भएपनि कला अजर रहन्छ त्यो कुनै समय कुनै माध्यमबाट पोखिन्छ भन्ने सन्देश पनि यो गीतले दिन्छ । आशा छ यहाँहरुले पनि यो गित मन पराउनुहुनेछ । साथीलाई कला क्षेत्रमा फेरी पनि पाईला राखेर सफल मिल्दै जाओस् यही छ कामना ।
एक छिन मेरा मित्र बेद जोशीको यो भिडियो हेरौ ।