धनगढी, २१ कातिक- शैक्षिक गुणस्तर सुधारका लागि धनगढीका सामुदायीक र संस्थागत विद्यालय बिच शुक्रवार अन्तरक्रिया सम्पन्न भएको छ ।सामुदायीक र संस्थागत विद्यालय बिच शैक्षिक गुणस्तर सुधारका लागि यसरी छलफल भएको पहिलो पटक हो ।
शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर धनगढी उप–महानगरपालिका अन्तरगत नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति कैलाली निवर्तमान कार्यसमितिले शैक्षिक गुणस्तर अभिवृद्धीका लागि समुदायीक र संस्थागत विद्यालय बिचको सहकार्य बिषयक अन्तरक्रियाको आयोजना गरेको हो । कार्यक्रममा शैक्षिक क्षेत्रका विज्ञ, धनगढी उप–महानगरपालिका नगर शिक्षा समितिका प्रतिनिधीहरु, नगरप्रमुख, सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार, क्याम्पस प्रमुखहरु, प्रअहरुको उपस्थीति रहेको थियो ।
कार्यक्रमका सहभागि अधिकांसले संस्थागत विद्यालय र सामुदायीक विद्यालयले राम्रा अभ्यास र सिकाईहरु हस्तान्तरण गर्नुपर्ने, साझा शैक्षिक क्यालेन्डर बनाएर पठनपाठन गराउनुपर्ने लगायतका सुझाव दिएका थिए ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायीक विद्यालय र संस्थायत विद्यालयहरुको सहकार्यबाट शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताए ।
‘सामुदायीक विद्यालयहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याएमा संस्थागत विद्यालय आफै गुणस्तर सुधार गर्नका लागि जुट्छन् नगरप्रमुख वडले भने, ‘त्यसैले गुणस्तर सुधारका लागि सामुदायीक विद्यालय पहिले जुट्नुपर्छ । धनगढी उप–महानगरपालिकाका सबै सामुदायीक विद्यालयहरु पूर्वाधार सम्पन्न हुदै गएको नगरप्रमुख वडले बताए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार प्रध्यापक डाक्टर हेमराज पन्तले संस्थागत विद्यालयले गरेका राम्रा अभ्यासहरु सामुदायीक विद्यालयले सिक्ने तथा सामुदायीक विद्यालयका राम्रो अभ्यास संस्थागत विद्यालयले ग्रहण गर्ने वातावरण सिर्जना हुनुपर्ने बताए । निजी क्षेत्र पनि त्यतीकै महत्वपूर्ण रहेको सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार प्रध्यापक डाक्टर पन्तले बताए । उनले भने, सामुदायीक विद्यालय अभिभावकहरुले कम प्राथमिकतामा राख्दछन् ।
नेपाल शिक्षक संघ कैलालीका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष भूपाल सिंह खड्काले कार्यक्रमको उदेश्य सामुदायीक विद्यालय र संस्थायत विद्यालयहरुको सहकार्यबाट धनगढीको शैक्षिक गुणस्तरमा सुधार ल्याउनु भएको बताए । उनले यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट, धनगढी नमुना प्राविधीक विद्यालयका प्रअ लक्षमणदत्त भट्ट, नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष भिमबहादुर बलायर, धनगढी नगरशिक्षा समितिका सदस्यहरु हरी रेग्मी, पदम सावद, शिक्षक सावित्री जोशी, पञ्चोदय माविका प्रअ हरीश ओझा,शिक्षक नेता नवराज ओझा लगायले सामुदायीक र संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तर सुधारका लागि खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राखेका थिए ।
कार्यक्रम शिक्षक पदमराज जोशीले संचालन गरेका थिए । स्वागत धर्मराज जोशीले गरेका थिए । कार्यक्रममा त्रिनगर माविका शिक्षक नेत्र खडायत र तिर्थ फुलाराले कार्यक्रमको ब्यबस्थापन गरेका थिए ।