धनगढी, १८ कातिक- १५ वर्षीया किशोरीको बलात्कार अनि हत्या प्रयास गरेको आरोप लागेका गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् ।
उनलाई सोमबार राति कैलालीको सहजपुरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । जोरायल गाउँपालिका–५ की किशोरीको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै सोमबार दिउँसो परिवारले प्रहरी जवान सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएको थियो ।निमित्त प्रमुख सिंहले घटनाबारे गम्भीर अनुसन्धान भइरहेको बताए । ‘यथाशीघ्र सत्यतथ्य जाँचबुझ गरेर दोषीलाई कडाभन्दा कडा कारबाही गरिन्छ,’ उनले भने, आरोपितलाई पक्रेर जिल्ला पु¥याइएको छ । चाँडै सत्यतथ्य बाहिर ल्याउँछौं ।’
कात्तिक १३ गते राति घटना भएको किशोरीका बुबाले बताएका छन् । उनका अनुसार सिंहले राति ११ बजे छोरीलाई घरमा सुतेकै कोठामा बलात्कार गरी सलले घाँटीमा बाँधेको र मृत्यु भएको ठानी कोदोबारीमा फालेको अवस्थामा फेला पारिएको थियो । छोरीलाई उनले बिहान ३ बजे अर्धचेत अवस्थामा भेटेका थिए । ‘राति कोही चिच्याएको आवाज आयो,’ उनले भने, ‘को रहेछ भनेर गएको त छोरी रहिछ । छोरीलाई उसैको दोपट्टाले घाँटी कसेर मरिसकी भनेर फालेको रहेछ ।’ किशोरीको कात्तिक १५ गते बेलुकी धनगढीस्थित प्रादेशिक अस्पतालमा होस आएको थियो । उनको घाँटीमा नीलडाम छ ।
सिंहले आफूलाई निर्घात कुटपिटपछि हत्याको प्रयास गरेको किशोरीले बताएकी छन् । सिंहले पहिल्यैदेखि विवाह गर्ने आश्वासन दिएर फोन गर्ने गरेको र कात्तिक १३ गते भने विवाह नगर्ने भन्दै ज्यान मार्न खोजेको उनको भनाइ छ ।
किशोरीको घर र प्रहरीचौकी आमनेसामने छन् । प्रहरीले सुरुमा किशोरीको परिवारले प्रहरी जवान सिंहले विवाह नगर्ने भनेका कारण किशोरीले आत्महत्याको प्रयास गरेको आरोप लगाएको जिकिर गर्दै आएको छ ।
अस्थायी प्रहरी चौकी गड्सेराका इन्चार्ज भण्डारी जिल्ला तानिए
अस्थायी प्रहरी चौकी गडसेराका ईन्चार्ज चन्द्रसिंह भण्डारीको भूमिकाबारे कुरा उठेपछि उनलाई जिल्लामा तानिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले उनलाई जिल्ला तानिएको जानकारी दिए ।
ईन्चार्ज भण्डारीले पिडित बालिकाकी आमाले घटनाका बारेमा दिएको ठाडो उजुरी समेत दर्ता गर्न नमानेको आरोप लागेको थियो । उनले म दर्ता उजुरी दर्ता गर्दैन सक्छौ भने जिल्लामा गएर दर्ता गर भन्दै धम्क्याएको पिडित बालिकाकी आमाले बताएकी छन् ।
जिल्ला प्रहरी कार्यालयको भूमिकामा आशंका
बालिकाको बलात्कार पछि हत्या प्रयासको मुद्धामा जिल्ला प्रहरी कार्यालय डोटीको भूमिकामा आशंका गरिन थालिएको छ । सुरुमा मुद्धादर्ता गर्न नमानेको प्रहरीले घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख जनकराज पाण्डे र डिएसपी ईन्द्रबहादुर मल्लले दिईरहेको अभिब्यक्तिमा आशंका पैदा भैरहेको पिडित बालिकाका आफन्तले बताएका छन् ।
प्रहरीले सुरु देखि नै सहमतीमा गाउँमै मुद्धा मिलाउन दवाव दिदै आएको बताउदै पिडित बालिकाका दाईले भने, ‘गाउँमा मात्रै होईन जिल्ला प्रहरी कार्यालयमा पुग्दा पनि मुद्धादर्ता गर्न आनाकानी गरिरहेको थियो । प्रहरीले दोषीलाई बचाउन किशोरीले आत्महत्या प्रयासको बनावटी कुरा गरिरहेको पिडितका आफन्त गरिरहेका छन् । प्रहरी जवान सिंहले हत्या नै गर्न खोजेको किशोरीकी भाउजूले दाबी गरिन् । ‘हामीले आत्महत्या ग¥यो भनेर भेलको रुख देखाएको हैन, बेहोस अवस्थामा भेलको रुखमुनि भेटिएकी थिइन् भनेर देखाएको हो,’ उनले भनिन्, ‘घाँटी कसेर लछार्दै लगेको स्पष्ट देखिन्छ, कुटपिटका नीलडाम पनि देखिन्छ ।’
किशोरीका बुबाले पनि प्रहरीबाट नै घटना थप अघि नबढाउन बरु गाउँमै मिलापत्र गरी बिहे गराउन दबाब आइरहेको बताए । ‘छोरी अहिले पनि बचाऊ–बचाऊ भन्दै बेलाबेला बर्बराउँछे,’ उनले भने, ‘उनीहरूबीच सम्बन्ध के थियो, मैले सुनेको छैन तर उमेर नपुगेकी छोरीलाई संरक्षणको साटो हत्या प्रयास गर्दा पनि न्यायको साटो अनेक कुरा गरिँदा दुःख लागेको छ ।’
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेयले पहिले दुवै पक्षबीच विवाह गर्ने कुराकानी भए पनि पछि किशोरीको परिवारबाट जबरजस्ती र हत्या उद्योगको उजुरी आएको बताए । ‘विस्तृत विवरण घटनाको अनुसन्धानपछि मात्र बताउन सकिनेछ,’ उनले भने ।
कात्तिक १४ गते बिहान ८ बजे किशोरीले आत्महत्या प्रयास गरेको भन्दै परिवार प्रहरीमा आएको उक्त चौकीका इन्चार्ज चन्द्रसिंह भण्डारी बताउँछन् ।
‘त्यस बेला प्रहरी जवान सिंहका कारण आत्महत्या प्रयास गरेकाले छोरी मरे पनि बाँचे पनि जिम्मेवारी लिनुपर्छ भन्नुभयो,’ उनले भने, ‘घटनास्थल पुग्दा किशोरीकी आमाले भेलको रुख र बाख्राको खोरमा रहेको डोरी देखाउँदै यहीबाट आत्महत्या गर्न खोजेको भन्नुभयो ।’ तर, त्यही दिउँसो आमाले सिंहले विवाह नगर्ने भन्दै छोरीलाई मार्ने उद्देश्यले कुटपिट गरेको भनी उजुरी दिएको भण्डारीले बताए । सुरुमा किशोरीको परिवारले सिंहले छोरीसँग विवाह गर्नुपर्ने अडान लिएको र त्यति बेला किशोरीको उपचार प्राथमिकतामा रहेकाले त्यसैअनुसार धनगढी लगिएको भण्डारीको भनाइ छ ।