काठमाडौं । असारदेखि असोज पहिलो सातासम्म मुलुकभर बाढी, पहिरोका कारण क्षति भएका अधिकांश स्थानका सडक पूर्ण, आंशिक तथा एकतर्फी रूपमा सुचारु भएका छन् । सडक विभागका अनुसार यो वर्ष २५३ स्थानका सडक तथा राजमार्गमा बाढी, पहिरोले क्षति पु¥याएकोेमा हालसम्म १३९ स्थानका सडक पूर्णरूपमा सञ्चालनमा आएका छन् भने ११२ सडक तथा राजमार्गका स्थानहरू आंशिक तथा एकतर्फी रूपमा सञ्चालन भएका छन् । यद्यपि अझै पनि दुई स्थानका सडक भने अवरुद्ध नै छन् ।
साउन २६ गतेदेखि ठप्प साँफेबगर–मार्तडी सडक अन्तर्गत दुई खण्ड हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । यो वर्षको बाढी, पहिरोका कारण साँफेबगर–मार्तडी सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । विभागका अनुुसार बेली ब्रिज र आरसीसी ब्रिज बढाउँदा बलेना–जडंगा र बूढीगंगा खण्ड हालसम्म अवरुद्ध छ ।
यसैगरी यो वर्ष सबैभन्दा बढी क्षति पुगेको अरनिको राजमार्गका अधिकांश सडक खण्ड भने आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । उक्त राजमार्गमा पर्ने जुरेलगायत २५ भन्दा बढी स्थानका सडक आंंशिक तथा एकतर्फी रूपमा सञ्चालन भएका हुन् ।
बाढी, पहिरोका कारण क्षतिग्रस्त सडक र पुलहरू बनाउन रू। ३ अर्बभन्दा बढी लगानी आवश्यक हुने प्रारम्भिक अनुमान विभागको छ । त्यसमध्ये सबैभन्दा धेरै डेढ अर्ब रुपैयाँ बजेट अरनिको राजमार्गमा खर्चिनुपर्ने देखिएको विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
यो वर्षको बाढी, पहिरोका कारण अरनिको राजमार्ग, साँफे–मार्तडी सडक र उत्तरी–दक्षिण कोरिडोरको बेनी–जोमसोम खण्डमा पनि अधिक क्षति पुगेको विभागका प्रवक्ता सापकोटाले जानकारी दिए । विभिन्न राजमार्ग तथा सडक खण्डका धेरै स्थानका सडक, बेलिब्रिज र बन्दै गरेका पुल भत्किँदा ठूलो क्षति भएको छ ।
विभागका अनुसार सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, कोशी राजमार्ग जस्ता राष्ट्रिय राजमार्गका कतिपय ठाउँमा अझै पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन हुँदै आएका छन् । यी सडक निर्माणका लागि विभागले तालुक मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मार्फत अर्थ मन्त्रालयमा बजेट माग गरेको छ ।
यसैगरी उत्तरी नाका जोड्ने गल्छी–त्रिशुली– मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडकका केही खण्ड पनि अझै एकतर्फी तथा आंशिक रूपमा मात्र सञ्चालनमा छन् ।
हरेक वर्ष बाढी, पहिरोका कारण सडक तथा पुलहरू क्षति हुने गरे पनि सरकारले नियमित बजेट शीर्षकमा छुट्टै बजेट भने राख्दैन । यो अतिरिक्त खर्चमा मर्मत–सम्भारका लागि व्यवस्थापन गरिँदै आएको छ । वार्षिक रूपमा बाढी, पहिरोका कारण हुने क्षति न्यूनीकरणका लागि जोखिम रहेका स्थानका सडकको हिउँदमा पहिचान गरी मर्मत–सम्भार गर्नुपर्ने खाँचो पूर्वाधारविद्हरू औंल्याउँछन् ।