महेन्द्रनगर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना महामारीबीच सरकार जनउत्तरदायी भएर आफ्नो कर्तव्य निभाइरहेको बताएका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापनाको अन्तिम तयारीमा रहेको दैजी–छेला ओद्योगिक निर्माण स्थलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टले कमजोर अर्थतन्त्र भएको मुलुक भए पनि कोरोना सङ्क्रमण नियन्त्रणमा जिम्मेवार भएर सरकार अघि बढिरहेको बताए ।
पिसीआर विधिबाट गरिने कोरोना परीक्षण खर्चबारे कुप्रचार गरिएको भन्दै उहाँले भ्रमका पछि नलाग्न आग्रह समेत गरे। “मन्त्रीपरिष्दले स्पष्ट रुपमा पिसीआर खर्च सक्नेले आफै गर्ने र नसक्नेको सरकारले खर्च व्यहोर्छ भनेको हो”, मन्त्री भट्टले भने, “यसलाई मोडियो र भ्रम फैलाउने काम भयो ।”
उनले सरकार कोभिडसित लड्न नसकेको भन्दै आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै आफ्नो जिम्मेवारीबाट सरकार कहिल्यै नपन्छिने स्पष्ट पारे । कोभिडकै कारण दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाको शिलान्यासमा ढिलाइ भएको जनाउँदै उहाँले यहाँका नागरिकको चाहना अब पुरा हुने चरणमा रहेको बताए । उहाँले सातै प्रदेशमा पहिलो चरणमा चार सय युवालाई उद्यमशिलता तालिम दिने तयारी भइरहेको जानकारी दिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले २०५१ सालदेखि कल्पना गरिएको दैजी औद्योगिक क्षेत्र स्थापनाको कार्य अन्मित चरणमा रहेको बताए । “मन्त्री ज्यूले फिल्ड हेर्छु भनेपछि सिङ्गो मन्त्रालय यहाँ आएको छ”, उनले भने, “इआइए र डीपीआर तयार गर्दा सहयोग गर्नुहुने सबैप्रति आभार ।” उनले शिलान्यास गरेको दुई बर्षभित्र यहाँ उद्योग ल्याउने लक्ष्य रहेको बताए ।