काठमाडौं । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयल नेपाल आएर फर्किएको खबर सेलाउन नपाउँदै अब सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे पनि नेपालको तीन तीन दिने भ्रमणका लागि आउन लागेका छन् । उनी नेपाल आउने मिति पनि भारतले नै तय गरेको छ । नरवणे यही कात्तिक १९ गते काठमाडौं आउने भएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेकाले त्यसैका लािग उनी नेपाल आउन लागेका हुन् । नेपाललाई भारतले एक तर्फी रुपमा लगाएको नाकाबन्दी पछि चिसिएको समबन्ध पछि भारतीय सेना प्रमुख नेपाल आउन लागेको यो पहिलो पटक हो । त्यसैले पनि उनको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् ।
कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेको अन्तरक्रिया गर्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए । भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका साथै जङ्गी अड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय रहने छ ।
नेपाल र भातरबीच सीमा विवाद चर्किरहेका बेला उनको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपाली भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्सामा समेटिएपछि भारत नेपालसँग रुष्ट छ । उसले उक्त भूमि चीनको उक्साहटमा नेपालले नक्सामा समेटेको आरोप लगाउँदै आएको छ ।