धनगढी, ६ कार्तिक/ अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (अनेरास्ववियु) का केन्द्रिय संयोजक ऎन महरलाई बझाङमा युवा विद्यार्थी नेताहरूले साङ्केतिक बहिष्कार गरेका छन ।
अनेरास्ववियु जिल्ला कमिटी बझाङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन बझाङ पुगेका संयोजक महरलाई विद्यार्थी नेताकार्यकर्ताहरुले साङ्केतिक बहिष्कार गरेका हुन ।
बिहीबार सदरमुकाम चैनपुरमा आयोजित कार्यक्रममा युवा बिद्यार्थी नेताकार्यकर्ताहरुको न्यून उपस्थिति रहेको थियो । बझाङमा अनेरास्ववियु संगठन विस्तार गर्दा संयोजक महरले एकता बिधान बिपरित कार्य गरेको भन्दै अनेरास्ववियुका नेताकार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउदै आएका थिए ।
संगठनमा लामो समय काम गरेका, सिनियर बिद्यार्थि नेता लाई लत्याएर आफन्त नातागोता लाई संगठनको जिम्मेवारी दिइए पछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई साङ्केतिक बहिष्कार गरेका हुन ।
कार्यक्रममा अनेरास्ववियु जिल्ला संयोजक, नेकपा जिल्ला अध्यक्ष र केही जनप्रतिनिधिहरुको उपस्थिति देखिएपनी युवा नेताकार्यकर्ताले कार्यक्रममा उपस्थित नभएर बहिष्कार जनाएका थिए ।
यस्तै कोरोना महामारी फैलिरहेका बेला सार्वजनिक कार्यक्रममा नेताहरूले स्वास्थ्य मापदण्डको अवज्ञा गरेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ । कार्यक्रममा सहभागी नेताहरूले मास्क बिना सामाजिक दुरि कायम नराखी सरकारी नियमको अवज्ञा गरेका थिए ।