धनगढी, ४ कार्तिक/ धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि शव मंगलबार फेला परेको छ । शनिबार देखि बेपत्ता साउदको शव प्रहरीले आज मोहना नदिमै फेला पारेको हो । तस्करहरुले हत्या गरी मोहना नदि बिचमा गाडेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संग्लन रहेका एकजनाले प्रहरीलाई साउदको हत्यागरी नदीको बिच भागमा गाडेको बयान दिएपछि शव फेला पार्न सफल भएको प्रहरी अधिकारीले बताएको छ । ती अधिकारीले भने–‘पक्राउ परेका मध्ये एकजनाले जवानको शव नदिको बिच भागमा गाडेको बयान दिएका थिए, त्यही व्यक्तिलाई घट्नास्थलमा ल्याएर खोज्न लगाएपछि शव भेटिएको हो ।’
तस्करीहरुले सोही राती (मटर) दाल नेपालबाट सामान भारत तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि हत्या गरेको प्रहरी समक्ष बयान दिएकाछन् । घट्नामा भारतीय तस्करहरुको पनि संग्लनता रहेको खुल्न आएको छ । प्रहरी अधिकारीले भने–‘उताका तस्करले नदीसम्म मोबाईल पुर्याईदिएको र नेपालतर्फकाले नदिसम्म दाल नदिसम्म पुर्याईदिएको घट्नालाई हेर्दा भारतीय तस्कारहरुको पनि प्रत्यक्ष संलग्नता नभएपनि घट्नामा संलग्नता देखीन्छ ।’
प्रहरीले दाल ओसारपोसार गर्न प्रयोग गरिएको गोरुगाडा (डल्लब) समेत स्थानिय बलराम रानाको घरबाट बरामद गरेको छ । अनुसन्धानमा क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना र फरार रहेका गरी ९÷१० जनाको घटनामा संग्लन भएको प्रहरी दाबी छ । हत्यामा संलग्न तस्कर समूहका केही व्यक्तिलाई पक्राउ गरिएको र उनीहरूले हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरूले सुरुमा जवानको हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकारेका छन् ।
हत्यामा संलग्न मुख्य नाईके सहित केही व्यक्ति फरार रहेको र खोजी कार्य भईरहेको स्रोतले जनाएको छ । भारतसँग जोडिएको उक्त नाका तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ हो । घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो ।
विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।
घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोबाट आएको टोली पनि आइतबारबाटै यहाँ खटिएको छ ।