धनगढी, ४ कार्तिक/ धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विकसँगै सीमा क्षेत्रमा गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको पनि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शनिबार साँझ ८ बजे मोटरसाइकलमा गस्ती गएकामध्ये असई विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परेका थिए । उनिसंगै गसतीमा गएका प्रहरी जवान साउँदको शव आजमात्रै मोहना नदिमै फेला परेको छ । अनुसन्धानमा क्रममा प्रहरीले १५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकामध्ये ६ जना घटनामा संग्लन भएको प्रहरी दाबी छ ।
घटनास्थलमा साउँदले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।
आइतबारदेखि प्रहरी टोली र स्थानीय साउँदको खोजीमा लागेका छन् । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने,“हामी अभियुक्तको नजिक पुगिसकेका छौं । केही पक्राउ पनि परेका छन् । सामूहिक रुपमा प्रहरीमाथि आक्रमण भएको देखिन्छ । तस्करको काममा अवरोध गर्दा आक्रमण भएको हो । छिट्टै सबै अभियुक्तलाई सार्वजनिक गर्छौँ ।”