धनगढी, १ कार्तिक/ कोरोना भाइरस (कोभिड–१९) को महामारीको त्रासले धनगढीमा कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा रगतको अभाव भएको छ । रगत आवश्यक पर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । उक्त समस्यालाई मध्यनजर गर्दै धनगढीमा रहेको सारथी अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
सारथी अस्पतालद्धारा रक्तदान कार्यक्रम आयोजना
सारथी अस्पतालद्धारा रक्तदान कार्यक्रम आयोजना
शनिबार अस्पताल सञ्चालक समिती र कर्मचारीहरुले अस्पतालमै रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । अस्पतालका बिरामीले रगत नपाएपछि सारथी अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
अस्पतालका सञ्चालक बेदप्रकाश जोशीले अस्पतालमा रगतको अभावलाई मध्यनजर गर्दै अस्पतालले नै रक्तदान कार्यक्रम गरेको बताए । आफ्नो अस्पतालमा रहेका बिरामीलाई रगत चाहिएमा रक्तसञ्चार केन्द्रबाट ल्याउने गरेको र हाल रक्त सञ्चार केन्द्रमापनि रगत अभाव हुन थालेको उनको भनाई छ । उनले भने–‘बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले, आज घट्स्थापनाको दिन रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।’
अस्पतालले सबै सञ्चालक समितीका पदाधीकारी र कर्मचारीलाई रक्तदान गर्न आह्वान समेत गरेको थियो । आज बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो । सो क्रममा अस्पतालका अध्यक्ष जोशी सहित २१ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ ।
रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले धनगढीमा दैनिक २० देखि २५ युनिटसम्म रगत आवश्यक पर्ने बताए । उनले गत वर्षको तुलनामा यसबर्ष रगतको माग केही कम भएको र संकलनपनि न्युन भएको बताए ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालका बिरामीका लागि बढी रगत आवश्यक पर्छ ।