धनगढी, २९ असोज/ कैलारी गाउँपालिका–१ हसुलिया बजारमा बिहीबार आँखा उपचार सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
सो गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच रिबन काटेर आँखा उपचार सेवा केन्द्रको उद्घाटन गरे । गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योति संघले आँखा उपचार सेवा केन्द्र निर्माण गरेको हो ।
संघका अध्यक्ष लोकराज जोशीको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवा, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी, वडा अध्यक्षहरु, सम्पूर्ण शाखाका प्रमुखहरुका उपस्थिति रहेको थियो ।
उद्घाटनसंगै केन्द्रले आफ्नो सेवा सुरु गरेको जनाइएको छ । हसुलियामा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा आएपछि आँखाको उपचारका लागि धनगढी र गेंटा आँखा अस्पताल पुग्नु पर्ने बाध्यताको धेरै हद्सम्म अन्त्य भएको गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरीले बताए । केन्द्रमा आधुनिक उपकरणसहित आँखा चेकजाँच र चश्मा बनाउने व्यवस्थासमेत रहेको जनाइएको छ ।