धनगढी, २८ असोज
एउटा महिला जसलाई परिवार र नजिककाले स्याहार गर्न छोड्छन् । बेसहारा हुन्छिन् । सडक पेटीको बास हुन्छ । त्यही पिडाले मानसिक सन्तुलन गुम्छ । जथाभावि बोल्न थाल्छिन त्यसपछि त्यही समाजबाट धनगढी उप–महानगरपालिका १३ कि कल्पना भट्टलाई यस्ता ब्यक्तिको बारेमा सूचना गरिन्छ । कल्पना उद्धार गरेर हरेक बेसहारा महिलाहरुलाई आफ्नो आश्रममा पु¥याउछन् र स्याहार गर्दछन् । बेसहारा ब्यक्तिहरुलाई राख्नका लागि कल्पनाले धनगढीमा दृष्टि फाउन्डेसन नामक आश्रम संचालन गरेकीछन् ।

कल्पनाले स्याहार मात्रै गर्दैछन् । उपचार पछि निको भएका बेसहाराहरुको परिवार खोजेर परिवार मिलन गराउँछन् । जसको आफन्त छैन भएर पनि आफ्नाले वास्ता गर्दैनन् त्यस्ता ब्यक्तिको पालन पोषणा देखि मरेपछि गरिने अन्तीम संस्कार सम्म आफै गर्दछन् । ‘बुधवार मात्रै आश्रममै मृत्यू भएकी एक ८० बर्षिया आमाको दाहासंस्कार गरेका छौं,कल्पनाले भनिन्, ‘दाहासंस्कार त के महिलाले लास छुन सम्म हुदैन भन्ने समाजमा आफै काँध हालेर लास बोक्न र चिता बनाएर जलाउन चुनौती नै छ ।’ मृतक ती महिलालाई धनगढीको त्रिवेणी घाटमा दाहसंस्कार गरिएको कल्पनाले बताईन । उनले भनिन्‘ आश्रम सञ्चालन गरेदेखि ४ जनाको यसरी नै अन्तिम संस्कार गरेका छौं ।
कल्पनाले बिगत तीन बर्ष देखि आश्रम संचालन गर्दै आएकी छन् । अहिले दृष्टी फाउन्डेशनमा ३९ जना बेसहारा र मानसिक सन्तुलन गुमाएका पहिलाहरु मात्रै छन् । दृष्टी फाउन्डेशन कैलालीमा सडक मानवमुक्त बनाउनका लागि संचालन गरेको कल्पनाले बताईन । ‘मुठीदान, बिवाह तथा जन्मदिवस लगायत बिभिन्न अवसरमा मनकारीबाट सहयोग हुदा बेसहरालाई पाल्न सकिएको छ कल्पनाले भनिन्, महिला माथी हुने हिंसा, वलात्कारका घटनाबृद्धी हुदै जादा आश्रम पुग्ने महिला दिदीबहिनीको संख्या पनि बढीरहेको छ ।’
सडक मानवमुक्त समाज निर्माणका लागि जुटेकी कल्पना मानसिक रोगि र बेसहाराको सेवा नै आफ्नो जिवनको लक्ष्य भएको बताउँछन् । समाजशास्त्रमा एमफिस गरेकी कल्पना आफुले भेटाएका बिभिन्न अवसरहरुलाई छोडेर मानवसेवामा लागेको बताउँछन् ।

दृष्टि फाउन्डेसनको जन्म
सडकमा बेहाल अवस्थामा तड्पी रहेका बेसहाराहरु देख्दा कोमल मनकी कल्पनाको मन सेवा भावले पग्लीयो । कल्पनाले आफ्ना नजिकका ११ जना साथीहरुको टिम बनाएर दृष्टि फाउन्डेसन दर्ता गरिन । त्यसपछि बिभिन्न ठाउँमा मानसिक सन्तुलन गुमाएका, सडकमा भेटिएका ८ जना महिलाहरुलाई उद्धार गरेर सेवाको काम थालिन । अहिले ३९ जना बेसाहारा दिदीबहिनीहरुलाई फाउन्डेसनका आश्रय लिएर बसेकी छन् ।
कल्पनाले भुल्नै नसक्ने त्यो कथा
बेसहाराहरुको उद्धार गर्नु मात्रै होईन उनिहरुको सुरक्षा त्यतीकै महत्वपूर्ण कुरो हो । त्यसैले कल्पनाको चाहना अनि आवश्यकता पनि थियो दृष्टि फाउन्डेसनका लागि आफ्नै आश्रम भवन । जहाँ मनोरोगिहरु भगेर बाहिर जान नसकुन । त्यही उनिहरुलाई परामर्श दिन सक्ने कक्ष होस । त्यसैले पनि आश्रम भवन निर्माणका लागि कल्पना तड्पीरहेकी थिईन ।
धनगढीलाई सडक मानव मुक्त नगर निर्माण गर्ने नगरप्रमुख नृपबहादुर वडको नारा संग कल्पनाको अभियानले मेल खाने भएकाले पनि धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाले गत आ.व. २०७६÷०७७ मा नै नगरपालिकाको वडा नम्बर ४ स्थित शिवपुरी सामुदायिक वनमा ३ कठ्ठा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णय गरेको थियो ।
निर्णयपश्चात सोही ठाउँमा आफ्नै घर बनाउने योजना दृष्टि फाउन्डेसनको थियो । तर बस्ती नै पागलहरूले भरिने भन्दै स्थानीयबाट लखेटिएपछि कल्पना अचम्मीत छन् ।
‘नगर कार्यपालिकाको निर्णयपछि ४ किल्ला प्रमाणित गराएर हामीले सुदूरपश्चिम प्रदेश सरकारलाई बुझायौं । प्रदेश सरकारबाट भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भयो । धनगढी उपमहानगरपालिकाबाट पनि सहयोग हुने प्रतिवद्धता थियो । जेठ ८ गते भवनको जग शिलान्यास नगर प्रमुखबाट भयो,’ कल्पनाले भनिन्, ‘तर विडम्बना स्थानीयले पागलखाना खोल्न दिँदैनौं, वडा नै पागलहरूले भरिन्छ भनेर विरोध गरे । हामीले बनाउन पाउनुपर्छ भन्दै फाउन्डेसनका सबै दिदीबहिनीसहित २१ दिनसम्म त्यही त्रिपाल टाँगेर बस्यौं ।’ शिवपुरी सामुदायिक वनका अध्यक्ष बृद्धि खड्काले ५ ठाउँमा जग्गा देखाएको कल्पना बताउँछिन् । वनका अध्यक्ष खड्काले देखाएको ठाउँमा वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापाको समर्थनमा काम थालेको भएपनि पछि जग्गा देखाउनेबाट सहयोग नभएपछि अवरोध सिर्जना भएको कल्पना आरोप लगाउँदै आएकी छन् । तर त्यसमा आफ्नो कुनै गुनासो नरहेको कल्पना बताउँछन् ।
‘इँटा र ढुंगा झारेर जग्गामा काम थालेपछि जसले जग्गा देखायो, उसैले यो जग्गा वडा नम्बर ५ मा पर्छ भनेर धोखा दिए । उनैको पहलमा तारानगर सामुदायिक वनले हामीलाई २० हजार रुपैयाँ जरिवाना ग¥यो,’ उनले भनिन् , ‘जरिवाना तिराउनलाई पनि धेरै ताकेता गरे । मसँग पैसा पनि थिएन । बुवा बित्नुभन्दा पहिले आफ्नो औंलाबाट झिकेर छोरीलाई दिनु भनेर आमालाई दिनुभएको थियो । त्यही औंठी लगाएकी थिए । त्यही औंठी ३२ हजारमा बेचेर २० हजार जरिवाना तिरें ।’ बिवादमा फस्दा फाउन्डेसनका लागि छुट्याइएको बजेट बजेट खर्च नभई फ्रीज भयो ।
उपमहानगरको सहयोग
दृष्टि फाउन्डेसनलाई समस्या पर्दा सबैभन्दा पहिले गुहार माग्ने ठाउँ धनगढी उपमहानगरपालिका र त्यहाँका नगरप्रमुख नृपबहादुर वड भएको कल्पना बताउँछन् ।

कल्पनाका अनुसार अहिले दृष्टि फाउन्डेसन राखेको घरको भाडा धनगढी उपमहानगरपालिकाले नै तिर्ने गरेको छ । धनगढी उपमहानगरपालिका वडा नं ७ मा फाउन्डेसनको कार्यालय छ ।फाउन्डेशनमा राखिएका दिदीबहिनीहरु बिरामी हुदा, मर्दापर्दा , खाना नहुदा, ग्याँस नहुदा सम्झीने उपमहानगरपालिकालाई नै हो कल्पनाले भनिन् ।
यसका साथै मनकारीहरुको पनि फाउन्डेसनलाई सहयोग रहेको कल्पनाले बताईन् । उनले भनिन्, खास उत्सवमा मात्रै नभएर नियमित आफुसंग जे छ त्यो सहयोग गर्नेहरुले फाउन्डेसन संचालन गर्न सकिएको छ ।