धनगढी, २६ असोज/ सुदूरपश्चिमका पहाडी जिल्लामा यसै हप्तादेखि नियमित हवाई उडान हुने भएको छ। बैतडीको पाटन, बझाङको देवल, डोटीको दिपायल, अछामको साँफेबगर, बाजुराको कोल्टीबाट नियमित उडान हुने भएको हो। कैलालीको धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित हवाई उडानको तयारी भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए।
समिट एयरले यसै हप्तादेखि नियमित उडानको तयारी गरेको उनले बताए। पाटन, देवल, दिपायलमा विमानस्थल कालोपत्रेपश्चात् पहिलोपटक नियमित रुपमा हवाई उडान हुन लागेको हो भने कोल्टी र साँफेबगरमा यसअघि उडान भर्दै आएको भए पनि नियमित हुन सकेको थिएन । यही असोज २९ गतेदेखि नियमित उडान हुने बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। हप्ताको १ दिन बिहीबार समिट एयरले उडान भर्ने र धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उड्ने बताइएको छ।
१७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। धनगढी–पाटनको भाडादर भने ३ हजार ८ सय २ रुपैयाँ तोकिएको छ। यस्तै बझाङमा पर्सी मंगलबारबाट नियमित हवाई सेवा सञ्चालन हुने भएको छ।
हप्ताको बिहीबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयरले सेवा दिने भएको हो। धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैयाँ तोकिएको छ। समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७, २८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहीबार र शुक्रबार मात्रै उडान हुने छ।
देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते शनिबार परीक्षण उडान भएको थियो। धनगढी–बझाङ यात्रा गर्न २५ मिनेटको हुने जनाइएको छ। उता दिपायल, साँफेबगर, कोल्टीमा भने हप्तामा कुन दिन उडान हुने भन्ने टुंगो एक दुई दिनभित्रै लाग्ने धनगढी विमानस्थलका प्रमुख बुढथापाले बताए।
तत्कालका लागि विमानस्थल रहेको स्थानीय तहसँग समन्वय गरेर यात्रु प्रतीक्षालय स्थापना गरेर एक जना कर्मचारी राख्ने तयारी भएको स्वकीय सचिव भण्डारीले बताए। यसअघि यही असोज १७ गते बैतडीको पाटन, बझाङको देवल र डोटीको दिपायल विमानस्थलमा परीक्षण उडान गरिएको थियो।
परीक्षण उडानसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराई, तीनवटै जिल्लाका संघीय सांसद, नागरिक उड्डयन प्राधिकरणको प्राविधिकसहितको टोलीले विमानस्थलको निरीक्षण समेत गरेका थिए।