धनगढी, २३ असोज/ भिमदत्त राजमार्ग अन्तर्गत कैलालीको अत्तरीयादेखि फल्टुडे सम्मको सडक भासिएको तीन महिना सम्म पनि मर्मत कार्य सुरु भएको छैन।
भासिएको सडक मर्मत नहुँदा सवारी आवागमनमा अवरोध पुगेको छ भने दुर्घटनाको जोखिमसमेत बढेको छ।
सुदूरपश्चिम प्रदेशमा ७ वटा पहाडी जिल्लालाई जोड्ने सो सडकमा गोदावरीदेखि तीन किलोमिटर माथि डेढ मिटर सडक पुरा भासिएको छ भने केही स्थानमा पर्खालहरुमा क्षति पुगेको छ।
साउनमा परेको भारी वर्षा पछि आएको पहिरोले सडकमा क्षति पुगेको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले पहिरोका कारण अवरुद्ध सडकलाई तत्काल खुलाएर संचालनमा ल्याए पनि सडक मर्मत भने गरेको छैन।
भत्किएको सडकमा तत्काल माटो भरान गरेर एउटा मात्र सवारी साधन चल्ने व्यवस्था गरिए पनि मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउछन्।
जिप चालक भीमबहादुर साउदले सडकका ठाउँ–ठाउँमा परेका चिरा र खाल्डाखुल्डीले गर्दा सवारी दुर्घटनाको जोखिम रहेको बताए।
चाडपर्वको समयमा यातायातको चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम उच्च छ। कैलाली, कञ्चनपुर, काठमाडौं तथा भारत लगायतका ठाउँबाट दशैं तिहार मनाउन घर फर्कने सुदूरपश्चिमबासीहरु सोही सडकमा यात्रा गर्दछन्।
प्रदेशका पहाडी क्षेत्रमा पुर्वाधार विकासका काम अघि बढाइएकोले सो सडकमा सवारी साधनको चाप पनि बढ्दै गएको चुरे गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टेकबहादुर शाह बताउँछन्।
मालबाहक ट्रकहरू पनि सोही सडकखण्ड भएर चल्ने भएकाले भत्किएको सडक अझैं जीर्ण बन्दै गएको उनले बताए।
सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चालु आर्थिक वर्षमा सो सडक मर्मतका लागि कुनै कार्यक्रम नभएको जनाएको छ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण दत्त जोशीले भने,‘हामीले सो सडक मर्मतका लागि लागत स्टिमेट तयारी गरी बजेट माग गरेका छौं। संघीय सरकारले बजेट उपलब्ध गराएपछिमात्र मर्मत कार्य अघि बढ्छ।
जोशीका अनुसारसो सडक मर्मत गर्नका लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
सडक एकै ठाउमा मात्र भासिएको नभएर ठाउँमा भासिएको र थुप्रै ठाउँमा खाल्डाखुल्डी परेका छन्।
पूर्वपश्चिम राजमार्ग टालटुल गरिदैँ
सुदूरपश्चिमको प्रवेशद्वार मानिने चिसापानीदेखि अत्तरीयासम्मको सडक अहिले मर्मत कार्य अघि बढेको छ।
चिसापानीदेखि अत्तरीयासम्मको ७९ किलोमिटर सडक खण्ड ठाउँठाउँमा भत्किएर धरापजस्तै भएको थियो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले सडक मर्मतकार्य तीन चरणमा भइरहेको बताए। बहुवर्षिय ठेक्का अन्र्तगत सो सडक मर्मत कार्य भइरहेको जनाइएको छ।
कार्यालयका सूचना अधिकारी जोशीले सो सडकको मर्मतको समय अवधि चैत मसान्तसम्म रहेको जानकारी दिए। सडक मर्मतका लागि १७ करोड बजेट विनियोजन गरिएको बताए।
ठाउँठाउँमा कालोपत्रे फुटेर ठूलठूला खाडल परेकाले कष्टकर यात्रा गर्नु परेको मसुरीयाका भोज मन्नीले सुनाए।
अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले अत्तरीयादेखि चिसापानीसम्मको सडकको अवस्था देख्दा सरकार नै नभएको महसुस हुने गरेको बताए।
आफूहरूले पटकपटक सडक डिभिजन कार्यालयदेखि प्रदेश सरकारलाई राजमार्ग समयमै मर्मत गर्न भने पनि सुनुवाइ नभएको गुनासो उनले पोखे।
तत्कालिन समयमा १० टनसम्मका सवारीसाधनलाई लक्षित गर्दै निर्माण गरिएको पूर्वपश्चिम राजमार्गमा पछिल्ला वर्षमा २० टन सम्मका मालबाहक गाडी गुड्छन्।
जसले गर्दा सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए।
क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण पनि राजमार्ग टुटफुट भएको उनले बताए।
हरेक ४(५ वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लो पटक भने रिसोलिङ नगरिएका कारण पनि बिग्रिएको उनले सुनाए। उनका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो।
नियमित सडक मर्मत गर्न २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो। तर, गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि लकडाउन सुरु भएपछि रोकिएको निर्माण कम्पनीका सञ्चालक गणेश जोशीले बताए।