धनगढी, २३ असोज/ सुदूरपश्चिम प्रदेशमा चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रदेशका ९ वटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ। त्यसका लागि चार हजार १२१ प्रहरी परिचालन गरिनेछ।
प्रदेशका ९ वटै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दसैँ, तिहार एकीकृत सुरक्षा योजना बनाएको बताउँदै उनले विभिन्न ठाउँमा पैदल, साईकल गस्ती बढाएको जानकारी दिए ।
सीमानाकामा चेक प्वाईन्ट बढाइएको बताउँदै सुवेदीले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको बताए ।
बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोशाकमा विशेष टोली परिचालन गरिएको छ । उनले चाडबाडमा घर छाडेर जानुपर्ने भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।