कैलाली, २२ असोज/ वैदेशिक रोजगारीमा ज्यान गुमाएकी कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरीकटानकी ४६ वर्षीया गीतकुमारी पार्कीको परिवारका चार बालबालिका विचल्लीमा परेको खबर थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको छ।
विभिन्न सञ्चारमाध्यमबाट उनीहरुको विचल्लीबारे समाचार सार्वजनिक भएपछि ह्यूमानिटी फाउन्डेसनका सदस्य एवं सञ्चारकर्मी दीपक उपाध्यायले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर खाद्यन्न सहयोग गरेका छन् ।
छोरी सान्भी उपाध्यायको जन्मदिनको अवसरमा घरमै पुगेर ५० केजी चामल, पाँच केजी दाल, एक दर्जन नुहाउने साबुन, खाने तेल, विस्कुट, कोल्गेट, ब्रस, सेनेटरी प्याड लगायतको सामान सहयोग गरेको सञ्चारकर्मी उपाध्यायले बताए । उनले आमाबुबा गुमाएकी टुहुरा केटाकेटीलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
बस्ने घरबास समेत नभएका उनीहरुलाई वडा नम्बर ९ की वडा सदस्य शारदा ताम्राकारले आफ्नो घरमा एउटा कोठा नि–शुल्क रुपमा उपलब्ध गराएकी छिन्।
कुवेतमा मृत्यु भएकी पार्कीको शव धनगढीमा असोज १२ गते पुगाइएको थियो। पार्की सात वर्षअघि कुवेत जाँदा कान्छी छोरी नौ महिनाकी मात्र थिइन् । एउटा छोरा ६ वर्ष र अर्को आठ वर्षका थिए । तीनै जनालाई १० वर्षीया छोरी सुशीलाको जिम्मा लगाएर उनी विदेशिएकी थिइन् ।
एक वर्षसम्म त बाबुको साथ थियो । तर, उनको मृत्यु भएपछि सुशीलाले तीनै भाइ बहिनीलाई आफैंले हुकाइन् । आमाले विदेशबाट पठाएको पैसाले उनीहरु पालिँदै आएका थिए ।
