धनगढी, १९ असोज/ महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) सडकखण्डअन्तर्गत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर–२ स्थित घाँटीबगर गोरेटो बाटो निमार्ण कार्य सम्पन्न भएको छ ।
नेपाली सेनाद्वारा निर्माण गरिएको घाँटीबगर गोरेटो बाटो हस्तान्तरण गरिएको छ । सोमबार उक्त गोरेटो बाटो सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् ।
घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय गरेको थियो ।
चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ घर परिवारको करिब एक हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नका लागि सोही गाउँपालिकाको वडा नम्बर–२ मा पर्ने मौरीभिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकोले आवतजावत गर्न समस्या भएको थियो । उक्त समस्याको कारणले हालसम्म स्थानीय बासिन्दाले नेपालको माथिल्लो भागबाट तल्ला भागमा आउन र तल्लो भागबाट माथिल्ला भागमा जानु पर्दा भारततर्फ रहेको बाटो प्रयोग गर्दै आउने पर्ने बाध्यता थियो ।
उक्त खण्डको बाटो सम्पन्न भएपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता अन्त्य भएको छ ।