काठमाडौं १६ असोज / पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कुनै पनि सेनाप्रमुखले आफूलाई नसोधी कारगिलमाथि हमला गर्न गयो भने उसलाई बर्खास्त गरिने बताएका छन् । उनले यो कुरा बिहीबार पाकिस्तानी निजी टेलिभिजन च्यानल ‘समा टिभी’सँग कुराकानीका क्रममा बताएका हुन् ।
सन् १९९९मा भारत(पाकिस्तानबीच कारगिल युद्ध हुँदा पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ थिए भने सेना प्रमुख जनरल परवेज मुसर्रफ थिए । इमरान भन्छन्, ‘‘सेनाको काम देश चलाउने होइन । देशको लोकतान्त्रिक व्यवस्था ठिक ढङ्गमा काम नगर्नुको मतलब त्यहाँ मार्सल ल लगाउनु होइन, लोकतान्त्रिक व्यवस्था सुधार गर्नु हो ।’’
करिब एक घण्टाको टीभी अन्तवार्तामा उनले भारतमाथि थुप्रै गम्भीर आरोप लगाए । पाकिस्तानी सेनालाई कमजोर पार्न पूर्व पाकिस्तानी प्रधानमन्त्रीलाई भारतले मद्दत गरिरहेको उनको आरोप थियो । उनले भने, ‘‘शरिफ खतरनाक खेल खेलिरहेका छन् । अल्ताफ हुसेनले पनि यस्तै खेल खेलेको थिए । मलाई शत प्रतिशत विश्वास छ, भारतले शरिफलाई मद्दत गरिरहको छ। पाकिस्तानी सेनाकमजोर हुँदा आखिर अरू कसलाई फाइदा हुन्छ ? ’’
मानवीय आधारमा पाकिस्तान सरकारले शरिफलाई बेलायत जान दिएको इमरानको भनाइ थियो। उनी थप्छन्, ‘‘हामीलाई थाहा छ, शरिफ थुप्रै मानिससँग भेटघाट गरिरहेका छन् । उनी पाकिस्तानविरुद्ध खतरा खेल खेलिरहेका छन् ।’’ भारतले पाकिस्तानलाई फुटाउन खोजेको उनको आरोप थियो ।
उनी भन्छन्, ‘‘अल्लाहका लागि आफ्नो आँखा खोल्नुस् । अफगानिस्तान, यमन, इरान तथा सिरियाजस्ता मुलुकको हालत हेर्नुस् । हामी आज सुरक्षित हुनुको कारण सेना नै हो । आज सेना थिएन भने पाकिस्तान तीन टुक्रामा विभक्त भइसक्थ्यो ।’’
पाकिस्तान सरकार र सेनाबीचको सम्बन्ध सुमधुर रहेको उनले बताए । उनले भारतले शिया र सुन्नी मुसलमानबीच विवाद उछालिरहेको आरोप लगाए। भारतले आतंकवादलाई बढावा दिएको पनि उनको भनाइ थियो ।