काठमाडौं१६ असोज । आन्तरिक विवाद फेरी सतहमा आएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक भोली शनिबार अपरान्ह ४ बजे प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच शुक्रबार भएको छलफलमा शनिबार बैठक बोलाउने सहमती भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए । सरकारले बिहिवार विभिन्न ३ देशका लागि राजदूत सिफारि गर्दा पार्टीमा सल्लाह नगरेको विषय बाहिर आएको छ ।
पार्टीका बाँकी काम र पछिल्ला विवादहरु बारे समाधान खोज्न सचिवालय बैठक बोलाइएको हो । दुई अध्यक्षबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै १ घण्टाजति छलफल भएको थियो ।
बिहिबार मन्त्रिपरिषद बैठकले अमेरिका लागि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रीकाका लागि निर्मलहरि विश्वकर्मालाई राजदूतमा नियुक्ती गर्न सिफारिस गरेको थियो । बैठकले मुख्यसचिवमा परराष्ट्रका सचिव शंकरदास वैरागीलाई नियुक्ती गरेको थियो ।