धनगढी १६, असोज । कञ्चनपुरमा राँगाको मासु खाएका १४ जना बिरामी परेका छन् । जिल्लाको भीमदत्तनगरपालिका वडा नम्बर १३ सोनापुरका ४ परिवार बिरामी परेका हुन् ।
१४ जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापाले बताए । बिरामी पर्नेमा सहबिर तामाङ, श्रीमती लक्ष्मी, छोरा हरिस र छोरा चेतन रहेका छन् ।
त्यस्तै २८ वर्षीय विनोद लुहार, श्रीमती लेखा, छोरा संगीत लुहार रहेका छन् । सोही ठाउँका ५० वर्षीय राम परी, श्रीमती शान्ति परी पनि रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाका अनुसार बिरामी पर्नेमा योगेश लुहार, काले लुहार, छोरा मोहित लुहार, होइकली लुहार र बुहारी ओजुनी लुहार पनि रहेका छन् । झाडापखाला, ज्वरोसँगै बान्ता हुन थालेपछि उनीहरूलाई बुधबार बिहान अस्पताल भर्ना गरीएको उनले बताए ।
मंगलबार वडा नम्बर १२ का बंगला चदाराले काटेको राँगाको मासु खाएर सुतेका उनीहरू बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् । बिरामी हुनेमा महिला, वृद्धवृद्धा, बालबालिका समेत रहेका छन् । राँगो काटेर मासु बिक्री गर्ने चदारालाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।