धनगढी १५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा आजसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।
२४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ । यो कुल संक्रमितको ७१ दशमलव ९ प्रतिशत हो।
काठमाडौं उपत्यकामा मात्र ९४३ जनामा संक्रमण पुष्टि भएको छ। अहिले नेपालमा २२० जना संक्रमितको आईसीयूमा उपचार भइराखेको छ ।
मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ ।
