महेन्द्रनगर १५ असोज । कोरोना संक्रमित बिरामीको परीक्षणको दायरा बढाउन भीमदत्त नगरपालिकाले पिसिआर मसिन खरिद गरेको २ महिना पुग्नै लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन् । नगर प्रमुख सुरेन्द्र बिष्टले मसिन खरिद गरेको २५ दिनभित्रसञ्चालनमा आउने गरी प्रक्रिया थालिएको बताएका थिए ।
भीमदत्त नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाख रुपैयाँमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको थियो । भीमदत्त नगरपालिकामा खरिद छिटो गर्ने तर खरिद गरिएका उपकरण सञ्चालनमा ध्यान नदिने प्रवृत्ति बढ्दै गएकोप्रति टिकाटिप्पणी पनि हुन थालेको छ ।
नगरपालिकाले पिसिआर मसिन खरिद गरेर सञ्चालनका लागि महाकाली अस्पताललाई दिएको छ । अस्पतालले भने आफूसँग स्रोत र स्थान नभएको भन्दै सञ्चालनको तयारी समेत गरेको छैन ।
कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मसिन खरिद गरेको २ महिना पुग्दा समेत आफूहरुले प्रक्रिया पूरा गर्न नसकेकोे महाकाली अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले बताए । ल्याब निर्माणमा ढिलाई हुँदा नगरपालिकामै थन्किएको छ ।
१२ असोजमा मसिन जडान गरी सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकार र महाकाली अस्पताललाई दिइएको भए पनि ल्याव सञ्चालन गर्न आवश्यक पर्ने केमिकल, डि फ्रिज, माईक्रोसेन्टिफयुज, पिसिआर क्याविनेट, बायोसेफ्टी क्याविनेट उपकरण खरिद गर्न ८२ लाखकोे अस्पतालले टेण्डर आह्वान गरेको अस्पतालका स्टोर प्रमुख तिलक जोशीले बताए ।
उपकरणको टेण्डर प्रक्रियामा एक हप्ता लाग्ने र त्यसपछि सामान ल्याउन फेरि समय लाग्ने भएकाले कात्तिकको पहिलो साता सम्म परिक्षण सुरु गर्ने गरि काम भईरहेको उनले बताए ।