धनगढी, १५ असोज
सानै देखि मानवीय सेवामा खटिने बानी त्यसै सेवा भावले कैलाली लम्कीचुहाका केपी खनालले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा छुट्टै पहिचान बनाएका छन् ।
उमेरले २१ बर्ष टेकेका खनाल सानो उमेरमै मानवीय सेवाका ठूलाठूला अभियानलाई सार्थकता दिएका छन् । जसका कारण कान्छा अभियान्ता खनाललाई २ अक्टुवर २०२० मा भारतको नयाँ दिल्लीमा आयोजना गरिने गान्धी जयन्तीमा सहभागि हुने निम्तो पुगेको छ । राईजिङ्ग टुङ्कल फाउन्डेशनले आयोजनामा गर्ने उक्त कार्यक्रममा उनी सम्मानित हुने छन् ।

अछामको रामारोशनमा जन्मिएका उनी कैलालीको लम्कीमा हुर्के–बढे । १२ कक्षासम्मको शिक्षा त्यहींबाट पूरा गरे । अहिले गाउँलेको सहारामा नेपाल कमर्स क्याम्पस, बानेश्वरमा अध्ययरत छन् । यसका अतिरिक्त अहोरात्र दुःखीहरूकै सेवामा खटिन्छन् उनि ।
उनका आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्दछन् । उनी आफू भने कहिले दालचामल बोकेर हुम्लाका गाउँबस्ती पुग्दछन् । कहिले ‘क्लिन काष्ठमण्डप’ अभियानको नेतृत्व गर्दै हातमा झाडु थमाउँदै फोहर सफा गर्न राजधानीका सडकमा निस्कीन्छन् । कहिले रमारोशनका बाढी पिडितका लागि राहत बोकेर घटनास्थलमा देखा पर्दछन् । उनले बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने अभियान पनि संचालन गरेका थिए । अहिले खनालले‘ हेल्प फर निडी अभियान ’ सुरु गरेका छन् ।
‘सबैले हामीलाई विश्वस गरेर अभियानमा सहयोग पुगिरहेको छ, अभियान्ता खनालले भने, दुःखी, असहाय र समस्यामा परेकाहरुको पिडामा मलम लगाउने अवसर यही समाजबाट पाएको छु । खनाल मानव सेवा बाहेक आफ्नो जिवनमा कुनै स्वार्थ नभएको बताए । उनले भने, ‘आऔं सबै मिलेर यो समाजका दीन दुःखीहरुको सेवा गरौं ।’

अभियन्ता खनाललाई नगरप्रमुख वडको सहयोग
केपी खनाल भब्य समारोहमा सहभागि हुने अवसर पाएपनि त्यहाँ जान गाडीभाडा थिएन । सधै अरुका लागि सहयोग अभियान संचालन गर्ने खनाल संग नयाँ दिल्ली पुग्ने भाडा कहाँ बाट हुने ? ‘खनाल गान्धी जयन्तीमा सहभागि हुन जान लागेको र बाटो खर्च नभएको कुरा म कहाँ पुग्यो धनगढी उप–महानगरपालिका नगरप्रमुख नृपबहादुर वडले भने, ‘मैले नगर प्रमुखको हैसियतले पाउने एक महिनाको तलवबाट २५ हजार भारु बनाएर दिए ।’ खनाल दिल्ली प्रस्तान गरिसकेका छन् । यस्ता अभियान्ता समाजका सम्पती भएकाले मैले आफ्नो सुविधाबाट सहयोग गरेको नगरप्रमुख वडले बताए ।
नगरप्रमुख वडले आफुले नगरप्रमुखको हैसियतमा पाउने सेवा सुविधा मानविय सेवा तथा सामाजिक कार्यमा नै खर्च गर्ने गरेको बताएका छन् ।
