धनगढी, १४ असोज/ बझाङमा कृषि तथा पशुपालन क्षेत्र परम्परागत तरीकाले अगाडी बढेको भन्दै सरोकारवालाहरुले आधुनिकरण र यन्त्रीकरण गर्नुपर्नेमा धारणा राखेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङले मंगलबार आयोजना गरेको स्थानिय तहका पशु सेवा शाखा प्रमुखहरुसंग चौमासिक समन्वय बैठ्कमा सहभागी हरुले कृषि क्षेत्रलाई आधुनिकरण गर्दै लैजानुपर्ने जोड् दिएका हुन ।
कार्यक्रममा प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले तीन तहका सरकारले विनियोजन गर्ने बजेट सन्तुलित नभएको धारणा राखीन् । ‘अहिलेसम्म सरकारले गर्ने बजेट वितरणमा असन्तुलन देखीएको छ, कुनै क्षेत्रमा बढी र कुनै क्षेत्रमा शुन्य बजेटले कृषिमा गरेको लगानी वालुवामा पानी जस्तै भएको छ,’ मन्त्री चौधरीले भने, ‘तीनै तहका सरकारले बजेट वितरणमा सबै स्थानिय तहलाई वराबरी रुपमा वितरण गर्नुपर्ने देखीएको छ ।’
उनले परम्परागत तरीकाले अगाडी बढेको कृषि तथा पशुपालन क्षेत्रलाई परिर्वतन गर्दै व्यवसायिक तरीकाले अगाडी बढ्नुपर्ने बताइन् । वास्तविक किसानको पहिचान नहुन्जेलसम्म कृषिमा फड्को मार्न नसकिने मन्त्री चौधरीले जिकिर गरीन् ।
कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख खड्क बहादुर खड्काले संघ, प्रदेश र स्थानिय तहका सरकारबिच समन्वय बढाउनुपर्ने बताए । उनले कृषि तथा पशुपालन क्षेत्र परम्परागत तरीकाले अगाडी बढेको भन्दै आधुनिकरण र यन्त्रीकरण गर्नुपर्ने धारणा राखे ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बझाङका प्रमुख पशुपति नाथले स्थानिय तहमा पशु सेवालाई कथप प्रभावकारीता वृद्धी गर्न कार्यक्रमको आयोजना गरेको बताए । स्थानिय तहका स्थानिय तहका पशु सेवा शाखाहरुलाई सल्लाह सुझाव दिईरहेको बताउदै आगामी दिनमा कसरी अगाडी बढ्ने बिषयमा रणनिती तयार गरेर जानुपर्ने धारणा राखे । उनले गत आर्थिक बर्षको कार्यक्रम कार्यान्वयनको समयमा कोरोना महामारीले समस्या सिर्जना गरेका बताए ।
यस्तै जयपुथ्वी नगरपालिका मेयर बिरेन्द्र खड्काले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अभिभावको भुमिका खेल्नुपर्ने बताए । उनले बझाङ भौगोलिक विविधताको जिल्ला भएको बताउदै सम्भावनाको खोजी गरिनुपर्ने धारणा राखे । कृषि क्षेत्रमा सरकारले प्रदान गरेको सेवासुविधा अहिलेसम्म वास्तविक किसानले पाउन सकेका छैनन । सरकारले कृषि क्षेत्रको प्रबर्द्धनका लागि मल, बीउ, सिचाईं, यान्त्रिकीकरण र बजारीकरणको ग्यारेण्टी गर्नुपर्ने उनको सुझाव थियो ।
छलफलमा प्रदेश सभा सदस्य, १२ वटै स्थानिय तहका पशु सेवा शाखा प्रमुख, जनप्रतिनिधि हरुको उपस्थिती रहेको थियो । जिल्लामा कृषि तथा पशुजन्य उत्पादन र व्यवसायको सम्भावना, त्यसको बजारीकरण, समस्या र समाधानका विषयमा राय संकलन गरिएको थियो ।
कृषि मन्त्री चौधरीले जिल्लामा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन समेत गरेकी छन् । सदरमुकाम चैनपुरमा रहेको मिटमार्ट, केदारस्यु गाउँपालिकामा रहेको उन्नत गाई फार्म र मुख्यमन्त्री कृषि कार्यक्रहरुको अनुगमन गरेकी हुन ।
