धनगढी, १४ असोज/ कञ्चनपुरको बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीमाथि साँघातिक आक्रमण भएको छ । सरकारले बेदकोटका तीन वडाको जग्गा समस्या समाधानका लागि समिति बनाएपछि वडा अध्यक्ष धामीमाथि मंगलबार साँझ धारिलो हतियार प्रहार गरी आक्रमण गरिएको हो ।
सत्तारुढ नेकपाका नेता धामी तीन वडाको जमिन अर्केको नाममा दर्ता गराउने भूमाफिया र कर्मचारी विरुद्ध सुुरुदेखि लड्दै आएका थिए । सरकारले समिति बनाएपछि भूमाफिया गिरोहले साँघातिक आक्रमण गरेको आशंका गरिएको छ ।
वडा अध्यक्ष धामीको वडामा पर्ने सुन्दरपुर क्षेत्रमा राति आक्रमणमा परेका धामीको पेट र छातीमा चोट लागेको छ । उनीमाथि ८/१० जनाले आक्रमण गरेको हुन सक्ने बताइएको छ ।
बेदकोट नगरपालिका कार्यालयबाट घर फर्केर जाने क्रममा सुन्दरपुरको क्षेत्रीय कृषि तालिम केन्द्र नजिक कल्भर्टमा बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको हो ।
‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाड्ेनन, मास्कले चिन्न सकेन्’ उनले भने,‘ एकाएक आक्रमण नै गरे, त्यसपछि मलाई होस नै भएन, घर पु¥याएपछि होस आयो ।’
अध्यक्ष धामीको पेटमा पाँच टाँका लगाइएको छ । उनले भूमाफिया गिरोहले आक्रमण गर्न लगाएको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटनाबारे अनुसन्धान थालिएको बताए ।
