धनगढी, १३ असोज/ “रेविज अन्त्यको लागि सहकार्य र खोप” भन्ने नाराका साथ १४ औँ विश्व रेविज दिवस बझाङमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बझाङले असोज ६ गतेदेखी १२ गतेसम्म रेविज सप्ताह आयोजना गरेको थियो ।
‘आफ्नो र टोल छिमेकका कुकुरलाई रेविज विरुद्ध निशुल्क खोप लगाउ र लगाउन सहयोग गरौ’ भन्ने नाराका साथ पशु विज्ञ केन्द्र बझाङले रेविज सप्ताह सम्पन्न गरेको हो । जयपृथ्वी नगरपालिकाको चैनपुर, पडेस, गोलाई, देवल लगाएतका स्थानमा कुकुरलाई निशुल्क रुपमा रेजिवको खोप लगाई सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बझाङका प्रमुख पशुपती नाथले जानकारी दिए ।
उनले रेविज सप्ताहको अवसरमा रेविजका बारेमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु, यसको रोकथाम र यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेको बताए । ‘छाडा कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढेको छ, त्यसैले कुकुरलाई रेविज खोप लगाउन जरुरी छ’ उनले भने ।
जिल्ला अस्पताल बझाङका प्रमुख सन्दीप ओखेडाले बझाङमा रेविजको समस्या बेलाबखत आउने गरेको बताए । उनले भने–‘कुकुर र स्यालले टोकेर दैनिक १ देखी २ जना बिरामी अस्पताल आउने गरेका छन्, सबैमा रेविज देखीन्छ भन्ने हुदैन् सामान्य घाउको उपचार र रेविज विरुद्धको खोप दिएर पठाउछौ ।’
सरकारी स्वास्थ्य चौकीमा रेविज विरुद्धको खोप अनि रेविज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलाई सहज रूपमा उपलब्ध हुने भएकोले रेविज फैलिन नपाएको उनको भनाई छ ।