कैलाली७ असोज । ०७३ सालमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाका रामबहादुर कुँवरले घरमा बस्दाबस्दै दिक्क लागेपछि व्यापार गर्ने सोच बनाए । उनी धनगढीस्थित दिप डेरीका सञ्चालक दिपक खड्कालाई भेट्न गए। कुँवरलाई डेरी सञ्चालक खड्का मिटर व्याजको धन्दामा लागेको कुरा थाहाँ थिएन ।
उनले सानोतिनो व्यापार गर्न ऋण लिनका लागि दिपक खड्कासँग सल्लाह गरे। कुँवरकी आमा महामतीको नाममा रहेको एक विगाहा २ कट्टा जमिन धितो राखेर खड्काले ५÷६ लाख रुपैयाँ झिकिदिए । सजिलै ऋण पाएपछि कुँवर खुसी भए। तर उनी सोही जमिन राखेर बैंकले थप रुपैयाँ दिएको बारे अनभिज्ञ थिए ।
‘डेरी सञ्चालक खड्काले बैंकका कर्मचारीहरुसँग मिलेर सोही जमिनबापत ६२÷६३ लाख रुपैया निकालेका रहेछन। मेरो जमिन राखेर उसले अरु काम गरेको रहेछ,’ कुँवरले भने, ‘जब धनगढीबाट करोडौं रुपैयाँ लिएर खड्का फरार भए । अनि मात्र यसबारे पत्तो पाए ।’
कैलालीकै फुलवारीका प्रभा लामा र सागर लामाको र मेरो जमिन राखेर खड्काले बैंकबाट ३ करोडको ऋण पास गरेको कुँवरलाई पछि मात्रै थाहाँ भयो । उनले भने, ‘रुपैयाँ संकलन गरेर फरार भएपछि मात्रै एउटै जमिन दुईवटा बैंकमा राखेको खुल्यो। बैंकका कर्मचारी समेत मिलेका रहेछन् ।’
अहिले यो मुद्धा जिल्ला अदालतमा चलिरहेको छ। खड्काले दिप रोयल प्राली नामक एउटा संस्थानै दर्ता गरेका थिए। जसको सेयर सदस्यमा ४ जना लेखनदास, ५ जना बैंकका कर्मचारी र ६ जना अन्य रहेका थिए । मिटर ब्याजको कारोबारमा संलग्न रहेका खड्का संकलित रकमसहित फरार भएको पाँच वर्ष भैसक्यो ।
उनले आफूलाई मिटर ब्याज कारोबारमा आफ्नै साथी धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका मुनीर खान लगायतले ज्यान मार्न भारतीय अपराधीलाई सुपारी दिएका कारण सपरिवार भागेको डायरी लेखेर छोडेका थिए ।
खड्काले १० करोडभन्दा बढी रुपैयाँ संकलन गरेको, त्यसबाट आफूले दुई करोड ७६ लाख रुपियाँ मात्र लगेको र बाँकी मुनीर खानसँगै रहेको डायरीमा उल्लेख गरेका थिए । तर प्रहरीले कसैले लेखेको डायरी प्रमाण मान्न नसकिने भन्दै कारबाही अगाडि बढाएन ।
खड्का मात्रै होइनन् मिटर ब्याज र ढुकुटीबाट संकलन गरेको आठ करोड रुपियाँभन्दा बढी रकम लिएर बेपत्ता भएका धनगढी चौराहका तरकारी थोक बिक्रेता राजेश गुप्ताको पनि अहिलेसम्म अत्तोपत्तो छैन । उनी फरार भएको चार वर्ष भईसक्यो । उनले मिटर ब्याज र ढुकुटी खेलाएर मात्र रकम संकलन गरेनन्, विभिन्न व्यक्तिका नामको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको रकमसमेत लिएर बेपत्ता भए ।
सात करोड रुपैयाभन्दा बढी रकमका साथ धनगढीकै अर्का व्यवसायी विकास अग्रवाल पनि बेपत्ता भएका छन् । अहिलेसम्म प्रहरीले तिनको खोजी कार्य पनि गरेको छैन।
धनगढी भन्सार रोडकी सुलोचनाले मिटर व्याजकै कारण सबै सम्पत्ति गुमाएपछि आत्महत्याको बाटो रोजिन्। चटकपुरकी देवीमायाले पनि यसरी नै सर्वस्व गुमाएपछि चुपचाप मृत्युको बाटो रोजिन्। यी केही प्रतिनिधिमुलक घटना मात्र हुन। कैलालीमा मिटर व्याजको अवैध धन्दा मौलाउँदै गएको छ।
छोटो समयमा धेरै पैसा कमाउने लोभले मिटर व्याजमा लगानी गर्ने धन्दा मौलाउँदा त्यसले समाजिक र आर्थिक अपराधको जोखिम पनि उत्तिकै बढेको छ।कतिपयको घरबास नै उठिबास भएको छ। रातारात धनी बन्ने सपनाले मध्यमबर्गीय परिवारका महिलालाई मिटर ब्याज र ढुकुटी मृत्युको फन्दा बन्दै गएको छ।
कसले प्रोत्साहन गर्छ मिटर व्याजमा ?
व्यावसायिक रूपमा नजिक रहेका, चिनजान भएका आधारमा र सानोतिनो व्यावसायीक सम्बन्ध भएकाले नै एकअर्कालाई यो धन्दामा लगानी गर्न प्रोत्साहित गर्छन्। वित्तीय संस्थामा ऋण धितो राखेर रकम निकाल्ने पनि छन्। विभिन्न व्यावसायीक फर्म दर्ता गरी धितो बन्धकी राखेर वित्तीय संस्थाबाट ऋण निकाल्ने र सुरुसुरुमा आकर्षक ब्याज दिई विश्वास दिलाउने काम यही गिरोहले गर्छ।
बिस्तारै लगानीकर्ताको विश्वास जितेपछि एकैपटक ठूलो रकम लगानी हुन्छ। तेस्रो गिरोहले लगानी भएको रकम संकलन गर्ने, कमिसन दिनुपर्ने ठाउँमा दिने, राजनीतिक संरक्षणका लागि पहल गर्ने काम गर्छ। यसरी संस्थागत रूपमा भइरहेको ठगीमा परेकाहरूले उजुरी दिन थालेपछि मुख्य व्यक्तिलाई भगाउने र सबै दोष उसैमाथि खन्याएर आफ्नो हिस्सामा आएको रकम लिने गरिएको छ।
यसरी घुम्छ मिटर व्याज ?
मिटर ब्याज भनेको मिटर घुमेजस्तै ब्याज रकम फनफनी घुमेर जोडिने रकम हो। जस्तोः ३० लाख रुपैयाँ आवश्यक परेको कसैलाई सुरुमै ब्याजबापतको २० प्रतिशत रकम (६ लाख रुपियाँ) कटाएर २४ लाख रूपैया मात्र दिइन्छ। यसअघि ऋण लिनेले धितो स्वरूप आफ्नो घरजग्गा दृष्टिबन्धक राखेको हुन्छ वा नामसारी नै गरिदिएको हुन्छ।
ऋण लिने व्यक्तिले हरेक महिना ३० लाखको १० प्रतिशतका दरले तीन लाख रुपियाँ ब्याज तिर्नुपर्छ। एक वर्षभित्र तिर्न नसके ब्याज दोब्बर हुन्छ। यसरी ३० लाख ऋण लिएको व्यक्तिले वर्षको ३६ लाख र सुरुमा तिरेको ६ लाखसहित ४२ लाख रुपियाँ ब्याज मात्र तिर्नुपर्ने हुन्छ। यति चर्को ब्याजमा रकम लिएर तिर्न नसकेपछि ऋण लिनेको सम्पत्ति ऋण दिनेको स्वामित्वमा जान्छ।
चेक अनादरका मुद्धा अदालतमा
जिल्ला अदालत कैलालीमा २०७५ भदौ ५ गतेदेखि हालसम्म चेक अनादरका ३ सय ९ वटा मुद्धा दर्ता भएका छन्। जसमा हालसम्म १ सय ५२ वटा मुद्धा फैसला भईसकेका छन्। चेक अनादरका मुद्दामा पीडित पक्षलाई बिगो भराई दोषीलाई बिगो बमोजिम जरिवाना तिराउने व्यवस्था रहेको जिल्ला अदालत कैलालीका उपसचिव श्रेष्तेदार राईभान कुन्जेडाले जानकारी दिए।
उनले खातामा रकमविनै भुक्तानीका लागि चेक काट्ने खातावालमाथि तीन महिनासम्म कैद सजायको व्यवस्था रहेको बताए। मिटर व्याज, ढुकटी लगायत अवैध कारोबार बढ्दै गएपछि चेक अनादरका मुद्धाहरु पनि बढेको अधिवक्ता वीरबहादुर जेठारा बताउँछन्। उनले चेक अनादरको मुद्धा बढ्नुले मिटर ब्याज र ढुकुटीको अवैध धन्दा मौलाएको बताए।
अदालतले कानुनी रुपमै मिटर ब्याज भन्न सक्दैन तर चेक अनादर बढ्नुले धनगढी मात्र नभएर टीकापुरमा समेत मिटर ब्याजको अवैध धन्दा मौलाएको पुष्टि भएको उनको भनाई छ।
यसमा प्राय जस्तो महिलाहरु सक्रिय छन्, त्यसैमध्येका पनि हुनेखाने महिला सक्रिय रहेको उनको भनाई छ। यता जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक विष्टले मिटर व्याज र ढुकुटीमा ठगी गर्र्यो भनेर उजुरी समेत नपरेको बताए। उनले कानूनी रुपमा अवैध भएकाले पीडितले उजुरी दिन नमान्ने गरको बताए। ‘पीडितले प्रमाणका आधारमा ठगी गर्र्यो भनेर प्रहरीमा उजुरी दिन सक्छन,’ उनले भने।
-महेन्द्रनगरपोष्ट बाट