धनगढी, ३ असोज/ मलेसियामा श्रम स्वीकृति समाप्त भएर नेपाल फर्कन नपाएका एक नेपाली श्रमिक पक्राउ परेका छन्। अवैधानिक रूपमा कार्यरत रहेको भन्दै मलेसिया प्रहरीले बझाङ बुङगल नगरपालिका–११ घर भएका दलबहादुर बोहरालाई पक्राउ गरेको हो।
उनी भदौ ५ गते कोत्ता दमन सरा शहरबाट पक्राउ परेका मलेसियामा उनीसँगै कार्यरत एक नेपालीले एक महिनाअघि प्रहरीले पक्राउ गरेको र अहिलेसम्म कुनै खबर नआएको भाइबरमा बताए।
‘खोजी गर्न जान हुथ्यो मेरो पनि भिसाको म्याद सकिएको छ’ उनले भने, ‘कतै आफूलाई पनि पक्राउ गर्ने हो कि भन्ने डर छ, अरू चिनजानको नेपाली कोही छैन, दूतावासलाई खबर गर्दा अझै तीनरचार महिना समय लाग्ने भन्छ।’ आफूहरूलाई नेपाल फर्किन समस्या भएको भन्दै मलेसियास्थित नेपाली दूतावाससँग कुरा गर्दा कुनै वास्ता नगरेको उनले गुनासो गरे।
कोभिड–१९ को कारण गरिएको लकडाउनको समयमा भिसा सकिएका कामदारलाई बस्न दिए पनि अहिले मलेसिया प्रहरीले भिसा अवधि सकिएका र अवैधानिक रुपमा रहेका नेपाली कामदारलाई धमाधम पक्राउ गरिरहेको छ।
अहिले नेपालमा रहेको बोहराका परिवारले उद्धारका लागि अपिल गरेका छन्। परिवारका सदस्य मानबहादुर बोहराले आफूहरूको पारिवारिक अवस्था एकदमै दयनीय रहेको बताउँदै उद्धारमा नेपाल सरकारले सहयोग गर्नुपर्ने बताए।
