शेरबहादुर ऐर/
धनगढी, २९ भदौ–गोदावरी नगरपालिका–९ बल्मीका अधिकांस घरपरिवार गिट्टी कुटेरै जिविकोपार्जन गर्छन्। अहिले कोरोना भाइरसका कारण विद्यालय ठप्प छन। विद्यालय ठप्प भएपछि त्यस क्षेत्रका बालबालिका पनि आफन्तसँग गिट्टी कुट्न जान्छन्।
पढाई ठप्प : ढाडमा भारी, हातमा गुलेली
बल्मीकी १४ वर्षे निर्मला (नाम परिवर्तन) आइतबार खुटिया किनारमै गिट्टी कुटिरहेकी थिइन्। उनले विद्यालय बिदा भएको दिन गिट्टी कुट्ने गरेको बताउँछिन्। उनी भन्छिन्,‘घर खर्च परिवारले यही गिट्टी कुटेर जोहो गर्छन, म पनि आफ्नो कापी कलमको जोहो गर्न बिदाको समयमा गिट्टी कुट्न आउँछु।’
हामी यो क्षेत्रमा पुग्दा ७ वर्षे बालिका मुना (नाम परिवर्तन) पनि गिट्टी कुट्दै थिइन्। स्थानीय निजी विद्यालयको युकेजीमा पढ्ने ती बालिका नसकी नसकी यो काम गरिरहेकी थिइन्। उनी एक हातले हथौडा र अर्को हातमा रबरले ढुङ्गा च्यापेर कुट्दै थिइन्।
मुनाकी आमा भन्छिन्,‘छोरी बोर्डिङमा पढ्छे, अहिले विद्यालय पनि बन्द छन् र घरमा पनि कोही हुँदैन, एक्लै घरमा बसाल्नु भएन त्यसैले यहीँ आएर गिट्टी कुट्छे।’
लुकाइछिपाई बालश्रम
धनगढी उपमहानगरपालिकी १४ वर्षे सरिता ९नाम परिवर्तन० बालश्रमिक हुन्। एक महिनाअघि सरिताकी आमा बाल हेल्पलाइन सिविन नेपालमा पुगेपछि मात्र यो घटना बाहिर आयो।
दुई महिनादेखि घरेलु कामदारका रुपमा काम गरिरहेकी उनी कसको घरमा काम गरिरहेकी छन् भन्ने जानकारी आफन्त बाहेक कसैलाई छैन। यो घटनाले के प्रष्ट पार्छ भने सुदूरपश्चिममा कोभिड–१९ संकटका बेला बालश्रम पुनः बल्झिएको छ।
सिविन नेपालकी सुदूरपश्चिम प्रदेशकी कार्यक्रम संयोजक विष्णु पौडेलले भन्छिन्,‘हाम्रोमा बालश्रम सम्बन्धि उजुरी आएका छैनन् तर सरकारले लकडाउन जारी गरेपछि बालश्रम बढेको केही घटनाहरुले देखाएका छन्।’
बालश्रमिकका रुपमा काम गरिरहेकी ती बालिका यसअघि स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत थिइन्। ‘पढाई राम्रै थियो तर लकडाउनका कारण घरमा खानाको जोहो गर्न समस्या भएपछि छोरी अहिले घरेलु कामदारका रुपमा काम गरिरहेकी छन्’, बालिकाकी आमालाई उदृत गर्दै सिविन नेपालकी कार्यक्रम संयोजक पौडेलले भन्छिन्।
श्रम शोषनमा बालश्रमिक
घोडाघोडी नगरपालिकाकी १० वर्षे रमेश (नाम परिवर्तन) एक वर्षदेखि स्थानीय होटलमा काम गर्दै आएका छन्। हातमा कापी कलम र ढाँडमा झोला बोकेर विद्यालय जाने आफ्नो रहर अहिले अधुरै रहेको उनी बताउँछन्।
उनी भन्छन्,‘आमाको मृत्यु भयो, बुवाले अर्को महिलासँग विवाह गरेर भारत गए, भाइ र मेरो जिविकोपार्जन गर्न यहाँ काम गरिरहेको छु।’
हामीले भेट्दा ती बालक होटलमा भाडा सफा गर्दै थिए। होटलले खान र बस्न बाहेक केही सुविधा नदिएको गुनासो उनको गुनासो छ। ‘होटलमा सबै काम गर्नु पर्छ, अहिलेसम्म तलब दिएका छैनन्, साउले भाईलाई पढाइदिन्छु भनेको थियो तर त्यो पनि गरिदिएन’, रमेश भन्छन्।
सरकारका आँखा चिम्म !
धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४७५ मा धनगढीलाई बालश्रममुक्त बनाउने योजना अघि बढायो। तर, यो योजना अहिलेसम्म पुरा भएको छैन।
धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्ट भन्छन्,‘श्रमिक बालबालिकाको तथ्यांक संकलन गर्नुपर्ने प्रमुख योजना थियो, कति उमेरका को बालक कहाँ काम गरिरहेको छ र कुन ठाउँका हुन त्यही अनुसार कार्यक्रम निर्माण गरिनुपर्ने थियो।’
अहिलेसम्म तथ्यांकसम्म संकलन हुन नसकेको विष्ट बताउँछन्। ‘सरकारले लकडाउन जारी गरेपछि यो काम झनै अघि बढ्न सकेन’, उनी भन्छन्,‘यससँगै विविध कारणले तथ्यांक संकलन हुन सकेन जसका कारण अहिलेसम्म कार्यक्रम निर्माण हुन सकेको छैन।’
यसबाट प्रष्ट हुन्छ धनगढी उपमहानगरपालिका बालश्रम मुक्त अभियानमा खासै संवेदनशिल छैन। यस विषयमा नगर प्रमुख नृपबहादुर वडसँग टेलिफोन सम्पर्क गर्दा उनले टेलिफोन उठाएनन्। अहिले तीनवटै तहको सरकारले कार्यक्रम र योजना निर्माण गरिरहेका छन्।
बालश्रम मुक्त नगर, प्रदेश र देश बनाउन कार्ययोजना निर्माणको चरणमा रहेको छ। सामाजिक विकास मन्त्रालयकी महिला विकास अधिकृत जयन्ती गिरीले भन्छिन्,‘कार्ययोजना निर्माणको चरणमा रहेको थियो, कोरोना भाइरसका कारण प्रभावित भयो।’
मन्त्रालयले बालश्रम मुक्त प्रदेश बनाउन प्रभावकारी रुपमा कार्यक्रम अघि बढाउन सकेको छैन। गिरीले भन्छिन्,‘बालश्रमका लागि भनेर हामीले छुट्टै कार्यक्रम बनाएका छैनौँ।’