काठमाडौं, २७ भदौ/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आब्हान गरेको छ। कोभिड–१९ (कोरोना) भाइरसका कारण सीटीइभीटीले अनलाइनबाटै आवेदन फर्म भर्न विद्यार्थीलाई आब्हान गरेको हो।
आवेदनमा प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, डेन्टल साइन्स, डेन्टल हाइजिन, फिजियोथेरापी, डाइनोस्टिक रेडियोग्राफी, सामान्य चिकित्सा आयुर्वेद र डिप्लोमा इन फार्मेसीका लागि एसईईमा गणित, अंग्रेजी र विज्ञानमा न्यूनत्तम ‘सी’सहित जीपीए २ ल्याएको हुनुपर्ने उल्लेख छ।
डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, जिओमेटिक्स इन्जिनियरिङ, आर्कीटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ, इन्फरमेसन टेक्नोलोजी, कम्प्युटर इन्जिनियरिङ, रेफ एण्ड एसी इन्जिनियरिङ, हाइड्रोपावर इन्जिनियरिङ र मेकाट्रोनिक्स इन्जिनियरिङका लागि भने एसएलसी वा एसईईमा कम्तिमा गणित र विज्ञानमा ‘सी’ र अंग्रेजीमा ‘डी’ ग्रेड ल्याउनु पर्छ।
डिप्लोमा तहकै एग्रिकल्चर ९बाली विज्ञान वा पशु विज्ञान०, फुड एण्ड डेरी टेक्नोलोजी र फरेस्ट्रीका लागि भने एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञान मध्ये कुनै दुईमा ‘सी’ र अर्को एक विषयमा ‘डी’ ग्रेड ल्याउनुपर्ने परीषद्ले न्यूनतम मापदण्ड तयार गरेको छ।
होटल म्यानेजमेन्ट, इन्टरपेनरसीप डेभलपमेन्ट र सोसियल वर्करमा डिप्लो गर्नका लागि एसईई वा एसएलसीमा न्यूनत्तम अंग्रेजी, गणित र विज्ञानमा न्यूनत्तम ‘डी’ ग्रेड ल्याउनु पर्दछ। प्रमाण तह वा डिप्लोमा भन्दामाथि उल्लेखित सबै कोर्षका लागि अक्षरांकन पद्धति लागू नभएको एसईई वा एसएलसीको हकमा न्यूनत्तम ४५ प्रतिशत अंक तथा परिषद् वा त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने प्राविधिक एसएलसी गर्नेहरूले भने क्रमशः कुल पूर्णाङकको ६८.३३ प्रतिशत वा ६६.६७ प्रतिशत ल्याउनु पर्ने सिटीईभिटीले जनाएको छ।
सात वटै प्रदेशका लागि सबै कोर्षमा गरेर ३ हजार ६७ विद्यार्थीले छात्रवृत्ति प्राप्त पाउनेछन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा सम्बन्धि विनियमावली, २०७४ (संशोधन सहित) को विनियम ५५ को अधिकार प्रयोग गरी परीक्षा समितिले डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्वन्धी निर्देशिका २०७४ जारी गरेको थियो।