धनगढी, २६ भदौ/ शुक्रबार बझाङमा पिसिआर मसिन पुगेको छ । गत जेठमा बझाङका स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मसिन किन्ने निर्णय भएको थियो । मसिन ल्याउन सफल भए पनि अझैं असोज पहिलो साता कुर्नुपर्ने जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा।सन्दिप ओखेडाले बताए ।
उनका अनुसार मसिन ल्याए पनि मसिन जडान गर्ने बायोमेडिकल इन्जिनियर हाल बैतडीको मसिन जडानमा व्यस्त भएकाले तत्काल जडान नसकिने भएको हो । बैतडीमा सकिनासाथ इन्जिनियर बझाङ आउने र प्रयोगशाला तयारी अवस्थामा रहेकाले इन्जिनियर आएको १ हप्ता भित्रै मसिन जडान गरिसक्ने प्रमुख डा ओखेडाले बताए ।
मसिन ल्याउनका लागि मेडिसोलुसन इन्टरनेसनल प्रालि काठमाडौैसँग १ करोड २५ लाख ४२ हजार १०० रुपैयाँमा सम्झौता भएको थियो । मसिन जिल्ला भित्रिएसँगै स्वाबको नतिजाका लागि हप्तौसम्म कुर्नुपर्ने र सिमित रुपमा मात्रैस्वाब संकलन गर्नुपर्ने बाध्यता हटेको उनले बताए । यस मसिनले दिनमा २ सय नमुना स्वाब परीक्षण गर्न सक्दछ ।
गत जेठ २६ गते बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिको पहलमा पिसिआर मसिन किन्ने निर्णय भएको थियो । मसिन खरिदका लागि नगरपालिका र जिल्ला समन्वयले १५ लाख र गाउँपालिकाहरुले १०÷१० लाख छुट्याएका थिए ।