धनगढी, २२ भाद्र- बझाङमा बाघको छाला सहित २ जना पक्राउ परेका छन् । बझाङको बुङल नगरपालीका –६ का बर्ष २६ हरजित बोहरा र सोही ठाउँका २३ बर्षिय सुरेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रिय अनुसन्धान टिम आरआइटी र जिल्ला प्रहरी कार्यलय बझाङको संयुक्त टोलीले बाघको छाला र हड्डी ९ किलोग्राम सहित उनीहरुलाई पक्राउ गरेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए ।
बुङल बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको अवस्थामा उनीहरुबाट बाघको दुई थान छाला र हड्डी सहित पक्राउ गरिएको हो ।पक्राउ परेकाहरुको साथबाट ८ फिट ७ इन्च लम्बाई र ४ फिट ६ इन्च चौडाइ तथा ७ फिट ६ इन्च लम्बाइ र ३ फिट ८ इन्च चौडाइको दुई थान पाटे बाघको छाला र ९ केजी हड्डी बरामद गरिएको एसएसपी सिंहले बताए ।
आरआइटी आफै ग्राहक बनेर उक्त परिणामको छाला, हड्डी र दुईजना मानिस पक्राउ गर्न सफल भएको बताउदै एसएसपी सिंहले प्रहरी पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बझााङ पठाइएको बताए ।