धनगढी, २१ भदौ/ वन्यजन्तु गणना गर्नका निमित्त राखिएको क्यामेरा ट्रयापिङले खिचेको फोटोबाट एक जना सिकारी पक्राउ परेका छन् । क्यामेरा ट्रयापिङमा २ महिना पहिले वन्यजन्तु सिकार गर्न बनाईएको पासो जालसहित कृष्णपुर–७ कलुवापुरका ४५ वर्षीय ओपी रानाको फोटो खिचिएपछि फेटोको आधारमा उनलाई शनिवार बिहान पक्राउ गरिएको हो ।
सब डिभिजन वन कार्यालय पिपरिया, कलुवापुरका सहायक वन अधिकृत बालमुकन्द भट्टको नेतृत्वमा डिभिजन वन र सशस्त्र वन सुरक्षा शाखा कञ्चनपुर तथा सुरक्षा शाखा वांडी कृष्णपुरको संयुक्त टोलीले ४ महिनापछि निजको घर पत्ता लगाई लामो सोधखोज र अनुसन्धान पश्चात उनी प्रक्राउ परेको डिभिजन वन कार्यालयका प्रमुख विक्रम मानन्धरले जानकारी दिएका छन् ।
भिडियो क्यामेरामा कैद भएको फुटेजका आधारमा ती व्यक्ति पत्ता लागेको र उनलाई अहिले जिल्ला वन कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु वनसंरक्षण ऐन २०२९ अन्तर्गत २० हजार जरिवान तथा ६ महिना कैदको प्रावधान रहेको र त्यसै अनुसार कानुनी कारवाही अगाडी बढाईने उनले बताए ।