काठमाडौं । कोरोना भाइरसका कारण लागु लकडाउनका कारण विश्वभरको इन्टरनेट स्पीड खस्किएको छ । एम ल्याब यूकेले गरेको विश्व्यापी सर्भेक्षणमा विश्वभर औषत रुपमा ६।३१ प्रतिशतले इन्टरनेट स्पीडमा गिरावट देखिएको हो ।लकडाउन अघि २९।३६ एमबीपीएस रहेको विश्वभरको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा घटेर २७।५१ एमबीपीएस रह्यो । लकडाउनका कारण विश्वमा सबैभन्दा धेरै इन्टरनेट स्पीडको कमी छिमेकी मुलुक चीनमा देखिएको छ ।
जहाँ आधाभन्दा बढी मात्राले इन्टरनेट स्पीड खस्केको छ । लकडाउन अघि औषत १२।५८ एमबीपीएस रहेको चीनको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने ६।१७ प्रतिशतमा झरेको छ ।लकडाउनकै कारण इन्टरनेट स्पीडमा भारी गिरावटको सामना गर्ने मुलुकहरुमा क्रमशः चीनपछि इन्टरनेटको स्पीड धेरै खस्किने टपटेन मुलुकमा पानामा, मादागस्कर, चिली, पेरु, कार्गिज रिपब्लिक, कोट डेल्भर, दक्षिण कोरिया र पाराग्वे छन् ।
जहाँ क्रमशः ४८।९९ प्रतिशत, ३७।७१ प्रतिशत, ३६।७७ प्रतिशत, ३६।७६ प्रतिशत, ३६।४८ प्रतिशत, ३०।७७ प्रतिशत, ३०।४५ प्रतिशत, २९।९१ प्रतिशत र २९।५१ प्रतिशतले इन्टरनेट स्पीड घटेको छ ।विश्वभरका ११४ मुलुकमा गरिएको यो सर्भेक्षणमा ३६ करोड ४३ लाख ४० हजार ३३५ पटक स्पीड टेस्ट गरिएको थियो । जुन करोड ६९ लाख ५१ हजार ९९८ वटा युनिक आईपीमा यो टेस्ट गरिएको हो ।
एसियाली मुलुकमा औषत रुपमा इन्टरनेट स्पीड १६।३३ प्रतिशतले खस्केको छ । लकडाउन अघि २०।२७ एमबीपीएस रहेको यहाँको औषत इन्टरनेट स्पीड लकडाउन अवधिमा भने १६।९६ एमबीपीएस रह्यो । यो सर्वेक्षणमा नेपाल, भारत, चीन सहित १९ मुलुक समावेश गरिएको थियो ।एसिया क्षेत्रमा इन्टरनेट स्पीड गिरावट गर्नेमा नेपाल आठौं स्थानमा छ । नेपाल अघि चीन, दक्षिण कोरिया, मलेसिया, श्रीलंका, बंग्लादेश, भारत र फिलिपिन्स रहेका छन् ।
लकडाउन अघि ५।५३ एमबीपीएस रहेको नेपालको औषत इन्टरनेट स्पीड लकडाउनमा १८।२५ प्रतिशतले घटेर ४।५२ प्रतिशतमा खुम्चिएको छ । यो सर्भेक्षण अवधिभर नेपालमा मात्रै एक लाख ३७ हजार ५९८ पटक स्पीड टेस्ट गरिएको थियो । जसमा २४ हजार १७४ वटा युनिक आईपीलाई समावेश गरिएको थियो । यो सर्वेक्षणमा योग्य नठहरिएको भन्दै सयभन्दा बढी मुलुकहरुलाई समावेश गरिएको छैन ।