सुर्खेत १८ भाद्र-कोरोना भाईरस ९कोभिड–१९० संक्रमण जोखिम न्युनिकरणका लागि पूजाआजामा घरघर जाने पुरोहितलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने भएको छ।संक्रमण जोखिमका समयमा सोह्र श्राद्धमा हुने पूजाआजा तथा जमघटलाई न्युनिकरण गर्न मंगलबार बसेको नगरपालिकाको स्थानीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
सोह्र श्राद्धको बेला पुरोहितहरूलाई घरघरमा नबोलाएरै श्रद्धा गर्न अनुरोध गर्दै नगरक्षेत्रमा जजमानी गर्ने पुरोहितहरुलाई समेत घरघरमा नजान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले अनुरोध गरेका छन्।‘कसैले मानिसको जमघट गरी पूजाआजा र पितृकार्य गरेको पाईएमा पुरोहितलाई क्वारेन्टाईनमा राखिने र त्यस्तो कार्यको लागि जमघट गरेको घर सिल गर्ने निर्णय भएको छ’ उनले भने।उनीहरूलाई सात दिनपछि कोरोना परीक्षण गरेर मात्र समुदायमा घुलमिल हुन दिईने र परीक्षण वापतको खर्च स्वयंले व्यहोर्नुपर्ने उनले जनाए।
नगरवासीमा कोरोना संक्रमण पुष्टी भएको खण्डमा निजसँगै बस्ने एकाघरका परिवारलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क स्वाब संकलन र परीक्षण गर्ने ब्यवस्था मिलाईने समेत बैठकले निर्णय गरेको छ।नगरपालिकाका सबै टोलहरु समेट्ने गरी प्रत्येक वडा कार्यालयको समन्वय र मातहतमा रहने गरी पाँच–पाँच जनाको निगरानी समूह तयार गर्ने र यस्तो समूहले संक्रमण न्यूनीकरणको लागि जनचेतना फैलाउने र वडा कार्यालयसँग समन्वय गरी निगरानीको कार्य गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिए।