धनगढी, १७ भदौ/ सुदूरपश्चिम प्रदेशका थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार सेती प्रादेशिक अस्पताल र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको परीक्षणका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ६ महिला र २ पुरुष, वडा नम्बर ४ का १ पुरुष र घोडा घोडी नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै बझाङको दुर्गाथली गाउँपालिकाका ९ जना सहित २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।
त्यस्तै उता डडेल्धुरामा पछिल्लो २४ घण्टामा २ सय ९० जनाको परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
भुसालका अनुसार डडेल्धुराका १ र बझाङका ९ जनामा संक्रमण पुष्टि भएको हो। डडेल्धुराको अमरगढी नगरपालिकाका १ जना, बझाङको दुर्गाथली गाउँपालिकाका ३ जना, मस्टा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका २ जना र तल कोट गाउँपालिकाका १ जना संक्रमित थपिएको भुसालले बताए।
यस्तै डोटी प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय जनाको स्वाब संकलन गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको मोलेकुलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठले जानकारी दिए।