धनगढी, १७ भदौ/ कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्ब्याएको छ। भदौ ४ गते राति १२ बजे देखि १९ गते राति १२ बजेसम्मको निधेषज्ञा तेस्रो पटक प्रशासनले लम्ब्याइएको हो।
निषेधाज्ञा अवधिमा साँझ साढे ५ बजेदेखि बिहान ७ बजेसम्म बजार व्यवसाय सञ्चालन गर्न नपाइने गरी आदेश जारी गरिएको छ । संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय ऐन, २०२८ को दफा ६ (३) बमोजिम कैलाली जिल्लाभर लागु हुने गरी औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवा खरिदको कामबाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।
जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोर विजोरको आधारमा सञ्चालन गर्ने व्यवस्था कडाइका साथ लागु गर्ने आदेश जारी गरिएको छ।