धनगढी, १७ भदौ/ कालंगागाड जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माणको काम सकिएको छ तर भारतबाट इलेक्ट्रिक सामान र प्राविधिक ल्याउन नसक्दा उत्पादन अनिश्चित बनेको छ । लकडाउन अन्त्यसँंगै निर्माण कार्य सुरु भए पनि आयोजनालाई निर्माण सामग्री अभाव भएको छ ।
आयोजनाका निर्देशक वीरेन्द्र मल्लले सीमा सिल गरिएको र विदेशी नागरिकलाई प्रवेश निषेध गरिएकाले सम्पन्न भएको आयोजनाबाट विद्युत् उत्पादन गर्न नसकिएको बताए । उनले सामान जुटाएर प्राविधिक ल्याउन सकिएमा तुरुन्तै विद्युत् उत्पादन गर्न सकिने बताए । सोही आयोजनाले सुदूरपश्चिम प्रदेशलाई जलविद्युत्मा आत्मनिर्भर बनाउने गरी निर्माण गरिरहेको ६५ मेगावाटका तीनवटा जलविद्यु्त् आयोजनालाई समेत निर्माण सामग्री अभाव भएको छ ।
निर्देशक मल्लका अनुसार सिमेन्ट, छडलगायतका निर्माण सामग्री बजारमा नपाइरहेकाले निर्माणकार्य प्रभावित भइरहेको छ । “निर्माण सामग्री जुटाउन गाह्रो भइरहेको छ,” उनले भने, “सामानको अभावमा घिटी–घिटी काम भइरहेको छ ।”
उनले लकडाउनपछि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाका कारण जनशक्ति जुटाउनसमेत गाह्रो भएको बताए । “कहिले निर्माण सामग्री त कहिले जनशक्ति अभाव झेल्नु परिरहेको छ,” निर्देशक मल्लले भने, “भारतबाट झिकाउनु पर्ने सामग्री पनि ल्याउन पाइएको छैन ।”
कालंगागाड जलविद्युत् आयोजनाले बझाङको कालंगा रिभर बेसिनमा ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको निर्माणका कार्य ८५ प्रतिशत सम्पन्न भएको छ । “निर्माण सामग्री र जनशक्ति पर्याप्त भएमा निर्धारित अवधिमै निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्न सकिन्छ,” निर्देशक मल्लले भने, “यस्तै समस्या आइरहने हो भने निर्माण कहिले सम्पन्न हुन्छ भन्ने अनिश्चित छ ।”
आयोजनाले २०७७ अन्तसम्म सबै आयोजनाबाट विद्युत् उत्पादन सुरु गरिसक्ने लक्ष्य लिएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण जलविद्युत् आयोजनाको काम प्रभावित भएकाले यो वर्ष निर्माण सम्पन्न नहुने देखिएको छ । २०७२ चैत १४ गते निर्माण अनुमति पाएका ती आयोजनाबाट विद्युत् उत्पादन अनिश्चित भएको छ ।
सामग्री अभावका कारण निर्माण सम्पन्न भए पनि जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन अनिश्चित भएसँंगै सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन पनि एक वर्षदेखि स्थिर छ ।