धनगढी, १७ भदौ/ सुदूरपश्चिमका विभिन्न ठाउँमा धान खेतीमा धानको पात पहेंलो र रातो हुने रोग देखिएको छ । कोरोना भाइरसको चपेटामा परेर बल्लतल्ल लगाएको खेतीमा रोग देखिन थालेपछि बैतडीका किसान चिन्तित भएका छन् ।
यो वर्ष समयमा मनसुन भएकाले समयमै धान रोपेर खुशी बनेका यहाँका किसान गोडमेल गर्ने बेलामा रोग देखिएपछि चिन्तामा परेका हुन् । यसै पनि मलको अभावले पिरोलिरहेको किसानलाई धानमा लागेको रोगले चिन्ता थपेको छ ।
धानबालीमा धानको पात पहेंलो तथा रातो हुने गरेको किसानहरूको भनाइ रहेको छ । सुर्नाया गाउपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, दशरथचन्द नगरपालिका लगायत पाटन नगरपालिकाका विभिन्न वडामा लगाइएका धानबालीमा सो रोगको समस्या देखिएको छ ।
रसायनिक मलको अभाव हुँदा समेत महँगो मूल्यमा खरिद गरी धान बालीमा छरेको पाटन नगरपालिका १ का किसान उद्धव भट्टराईले बताए ।
महँगो मूल्यमा खरिद गरी धान बालीमा छरेको भए पनि केही दिन गाढा हरियो देखिएको धानबाली एक्कासी पहेंलो र रातो हुन थालेको किसान भट्टराईले बताए । यस वर्ष युरिया मलको अभाव झेलेका किसानलाई धान खेतीमा लागेको रोगले चिन्तित बनाएको छ । । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलपमा धान खेती गरिदै आएको छ ।
बैतडीका ९० प्रतिशत किसान कृषि पेसामा आबद्ध रहेका छन् । समयमा धान रोपेको भएपनि यो बर्ष धान उत्पादनमा समेत ह्रास आउने आँकलन गरिएकोे कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्ण बहादु चन्दले चन्दले बताए ।