धनगढी, १७ भदौ
धनगढी उपमहानगरपालिका प्रवत्ता सन्तोष मुडभरीले भारत तथा तेश्रो मुलुकबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने र पिसिआर चेक गर्ने कामलाई अनिवार्य बनाएको बताएका छन् ।
‘अन्यत्र के भैरहेको छ, थाहा छैन’ प्रवत्ता मुडभरीले भने, ‘धनगढी उप–महानगरपालिकाले बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेर चेकजाँचमा कोरोना नेगेटिभ आएपछि पनि अनिवार्य थप १४ दिन होम क्वारेन्टिनमा बस्ने सर्तमा छोडेको छ ।’ ‘कोरोना पोजेटिभ आएकालाई उप–महानगरपालिकाले संचालन गरेका आईसोलेशनमा राखेर उपचार गर्ने गरेका छौं’ प्रवत्ता मुडभरीले भने, जटिल अवस्थाकालाई सेती प्रादेशीक अस्पतालमा उपचार गर्ने गरिएको छ । केन्द्र सरकारले कोरोना पोजेटिभ देखिएका तर १४ दिन सम्म पनि कुनै लक्षण नदेखिएकालाई होम क्वारेन्टिनमा बस्ने गरि छोड्ने मापदण्ड पठाएको भएपनि धनगढी उप–महानगरपालिकाले नछोडेको प्रवत्ता मुडभरीले बताए ।

भारतबाट आउनेहरू सिधै घर गएमा कोरोनाको जोखिम समुदायसम्मै पुग्ने खतरा देखेपछि उपमहानगरले अहिले पनि कबर्ड हलमा क्वारेन्टिनमा व्यवस्था मिलाइएको उपमहानगरपालिकाको कोभिड उप–समिति संयोजक नारायण प्रसाद बरालले बताए ।
स्थानीय ब्यबस्थापन धनगढी उप–महानगरपालिका ५ मा रहेको आदर्श नव यूवा क्लवले गरिरहेको छ । खाना तयार गर्ने, खुवाउने लगायत सबै ब्यबस्थापन हाम्रो क्लवले गरेको छ आदर्श नव यूवा क्लवका अध्यक्ष निराजन खड्काले भने, आवश्यक कुराको ब्यबस्थापन उप–महानगरपालिकाबाट भैरहेको छ ।