दार्चुला १६ भाद्र-दार्चुलाको लेकम गाउँपालिकाका–५ मा मृत्यु भइसकेको व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता बुझेको पाइएको छ । लेकम गाउँपालिका–५ रिठाचौपातामा वडाकै कर्मचारीले मृतकको नामको सामाजिक सुरक्षा भत्ता बुझेको खुलासा भएको हो ।
सामाजिक सुरक्षा भत्ताको जिम्मेवारी पाएका प्राविधिक हरसिंह बोहराले नै मृत्यु दर्ता भइसकेको व्यक्तिको लगत कट्टी नगरी भत्ता लिएको पाइएकोे छ ।२०७६ असार २३ गते महेन्द्रनगरमा मृत्यु भएका हरिदत्त जोशीको मृत्यु दर्ता भइसक्दा समेत सामाजिक सुरक्षा भत्ता प्राविधिक बोहराले नै लिएको खुलासा भएको छ । महेन्द्रनगरमा उनको मृत्यु भएकाले सबैलाई जानकारी समेत नभएको र तेस्रो चौमासिकको भत्ता लिन नआएपछि सोधखोज गर्दा वडाका कर्मचारीले रोकेको खुल्न आएको वडाध्यक्ष दिपेन्द्र सिंह बोहाराले जानकारी दिए ।
पहिलो र दोस्रो चौमासिकको २४ हजार सामाजिक सुरक्षा भत्ता आफूले बुझेर मौन बसेका प्राविधिक बोहराको पोल तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरणका बेला खुलेको हो ।‘ती व्यक्तिको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म किन लगेनन् भनेर वडाबाट सूचना गर्दा यस्तो कुरा खुल्यो’ वडाध्यक्षले भने । नियत नै गलत भए वडाबाट सूचना समेत नगरिने भन्दै नियत भन्दा प्राविधिक त्रुटी भएको वडाध्यक्षले बचाउ गरे ।
मृतकका आफन्तले मृतकका नाममा सामाजिक सुरक्षा भत्ता लिइरहेको सुइँको पाएपछि सोधखोज गर्दा प्राविधिक बोहराले कोलेनिकामा फिर्ता गरेको जनाइएको छ ।मृतकका नामको भत्ता आफूले बुझेको प्राविधिकले गल्ती स्वीकार गरेको वडाध्यक्ष बोहराले बताए । ‘गल्ती स्वीकार कर्मचारीले आइतबार पनि गरेका हुन, सोमबार पनि गरेकै हुन, मैले पनि जिम्मेवार व्यक्तिको हैसियतले हेर्न नसकेको भन्दै माफी मागेको छु’, वडाध्यक्ष भने । कर्मचारी र वडाध्यक्षले माफी मागेपनि स्थानीयले भने कानुनी कारबाही गरिनुपर्ने अडान राख्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।