धनगढी, १६ भाद्र- संघीय सरकारले सुदूरपश्चिमका ३ अस्पतालमा आईसीयू सेवा विस्तार गर्न ७ करोड बजेट विनियोजन गरिएको छ। डडेल्धुरा अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र कैलालीको टीकापुर अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू सेवा विस्तारका लागि ७ करोड बजेटको विनियोजन गरेको हो।
संघीय सरकारले ५ वटा भेन्टिलेटरसहित १५ शैयाको आईसीयू सेवा विस्तार गर्न ३ करोड बजेटको सुनिश्चितता पठाएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।जगदिशचन्द्र विष्टले जानकारी दिए। संघीय सरकारले पठाएको बजेट सुनिश्चितताका आधारमा आईसीयू र भेन्टिलेटर खरिदका लागि प्रक्रिया थालिने उनको भनाइ छ।
महाकाली अस्पताल र टीकापुर अस्पतालमा आईसियू सेवा विस्तारका लागि पनि संघीय सरकारले २÷२ करोडको बजेट सुनिश्चितता दिएको छ। दुवै अस्पतालमा ४÷४ वटा भेन्टिलेटर सहित १०÷१० शैयाको आईसीयू सेवा सञ्चालनका लागि बजेटको सुनिश्चितता पठाएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।
सुदूरपश्चिममा अहिले सेती प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर र १० शैयाको आईसीयू सञ्चालन छ भने कञ्चनपुरको महाकाली अस्पतालमा ३ वटा भेन्टिलेटर सहित ८ शैयाको आईसीयू सेवा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सरकारले कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि अस्पतालहरूमा भेन्टिलेटर र आईसीयू सेवा विस्तार गर्न लागेको हो।