धनगढी, १५ भदौ/पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप २६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १९ जना र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ जना गरी कूल २६ जनामा कोरोना पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ९ जना, वडा नम्बर ३ र १ का २/२ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कैलालीकै लम्किचुहा नगरपालिका –१०, बर्दगोरीया गाउँपालिका –२, जानकी गाउँपालिका –३ का एकरएक जनामा कोरोना संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका –१८ का एक जना र कञ्चनपुरकै बेदकोट नगरपालिकाका एक जनामा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६ सय ९३ जनाको परीक्षण गरिएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ८३ जनाको कोरोना परीक्षण भएकोमा ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ५ पुरुष र २ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार डोटीको आर्दश गाउँपालिका –३ का २ जना, अछामको मंगलसेन नगरपालिका –१ का ३ जना, मंगलसेनकै वडा नम्बर ४ र ८ का एक/एक जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय २९ पुगेको छ।