धनगढी, १५ भदौ/बझाङका ५ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ । आइतबार राति १२ बजेदेखि भदौ २८ गते राति १२ बजेसम्म दुर्गाथलीको ४, ५ र ६ नम्बर वडा, खप्तड छान्नाको ६ नम्बर वडा र छबिसपाथिभेराको ६ वडामा निषेधाज्ञा जारी गरिएको हो ।
आइतबार बसेको जिल्ला सुरक्षा समिति बैठकले तीन स्थानीय तहका ५ वटा वडामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । उनका अनुसार अबदेखि जिल्लामा कुनै पनि प्रकारका भेला, सभासम्मेलन, मेलापर्व, जात्रामहोत्सव, पूजाआरधाना, भोजभतेर राजनीतिक दलका सभासम्मेलन गर्न बन्द गर्ने पनि निर्णय भएको छ ।
जिल्लामा कोरोना संक्रमित बढ्दै गइरहेका बेला राजनीतिक दलले विभिन्न भेला, सभा गर्न थालेपछि जिल्लामा व्यापक विरोध भइरहेको छ । यसप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रशासनले सर्वपक्षीय बैठक पनि डाकेको थियो । बैठकमा सहभागी सबै राजनीतिक दलले अहिलकोे परिस्थितिलाई मध्यनजर गरी यस्ता कार्यक्रम बन्द गर्ने सहमति जनाएका छन् ।
बझाङमा आइतबार थप ४७ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित सबै दुर्गाथली गाउँपालिका वडा ४ र ५ का रहेका छन् । यो सँगै बझाङमा कोरोना संक्रमितको संख्या ३ सय ६७ पुगेको छ । अब बझाङमा सक्रिय संक्रमितको संख्या ८८ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २ सय ७७ पुगेको छ ।