काठमाडौ, १४ भदौ/ आज देशभर थपिएको कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको छ। पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार थपिएका १ हजार २ सय २१ सँगै हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।
केही दिनअघि एकै दिन अहिलेसम्मकै धेरै १ हजार १ सय ११ जना कोरोना संक्रमित भेटिएका थिए।
विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म २० हजार ८ सय २२ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ छ।
त्यस्तै विगत २४ घण्टामा थप १४ जनाको कोरोनाका कारण ज्यान गएको छ। यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ सय २१ पुगेको छ।