धनगढी, १३ भदौ/ हामो पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेकै बेला एकता जोगाउन सासदहरुले अभियान शुरु गर्यौं। त्यही शिलसिलामा म र मेरो निजी सहायक (पिए) साउन २५ गते सिंहदरवार पुगेका थियौं।
पार्टी महासचिव विष्णु पौडेलका पिएसओसंग सिंहदरवारमा भेट भएको थियो। त्यसको केहि दिनमै महासचिवका पिएसओलार्ई कोरोना संक्रमण भएको समाचार सार्वजनिक भयो। यो समाचारले मेरो मनमा कताकता आशंका उब्जायो। त्यसपछि म र मेरा पिए पिसिआर चेक गर्न साउन ३० गते स्वास्थ्य विज्ञान प्रयोगशाला टेकु पुग्यौ। साउन ३२ गते मेरो पिएको रिपोर्ट पोजेटिभ आयो। मेरोचाहिँ नेगेटिभ भएको खबर प्राप्त भयो। तर पनि मन बेचैन थियो। भोलिपल्ट फेरि टेकुबाट खबर आयो– मेरो पनि रिपोर्ट पोजेटिभ छ रे।
यो खबरले म आत्तिए। मेरो प्रेसर पनि ह्वात्तै बढेको थियो। घर परिवारका सदस्यसमेत आत्तिए। टेकुबाट फेरि फोन आयो, तपाई घरमै बस्ने कि के गर्र्ने रु टवाइलेट, बाथरुम प्रयोग गर्नदेखि अरु पनि समस्या हुने भएपछि मैले घरमा नबस्ने भनेर जवाफ दिएँ। त्यसपछि किर्र्तिपुरस्थित आयुर्वेद रिसर्र्च सेण्टरमा मलाई राख्ने कुरा भयो। मेरो पिए त अघिल्लै दिन केएमसी अस्पतालको आइसोलेसेनमा बसिसकेका थिए। मेरोे पिएलाई पनि आयुर्र्वेद रिचर्स सेण्टरमै बोलाएँ। दुई जना भएपछि गफगाफ गर्नेदेखि दिन कटाउन पनि सहज भयो।
घरबाट आइसोसेसनमा हिंडेपछि म निकै आत्तिएको थिएँ। आयुर्वेद रिसर्च सेण्टर पुग्दा त मेरो प्रेसर ह्वात्तै बढेको रहेछ। घर परिवारका सदस्य पनि तनाबमा थिए। तर पनि परिस्थितीको सामना गर्नु बाहेक विकल्प थिएन। मैले मेरो पिएको रिपोर्ट पोजेटिभ आएको खबर म बस्ने गरेको टिकाथली क्षेत्रका छरछिमेकीलाई दिइसकेको थिएँ। मेरो पोजेटिभ आएको दिन पनि मैले वडाअध्यक्ष, वडा सदस्य र छिमेकीलाई जानकारी गराउंदै सचेत रहेर बस्न आग्रह गरेको थिएँ। स्थानीय तहका पदाधिकारी र छरछिमेकीले सहयोग र सदभाव नै राखेको पाएँ।
किर्तिपुर आयुर्वेद रिसर्च सेण्टरमा जानुअघि मैले घरबाटै लसुन, अदुवा, बेसार, गुर्जो, ल्वाङ, ज्वानो, मरिच पिँधेर धुलो बनाएर लगेको थिएँ। आइसोलेसनमा बस्दा विहान, दिउंसो र राती गरि तीन पटक तातोपानीमा राखेर यो धुलो सेवन गर्थें। त्यहाँ पनि दिनको तीन पटक २, २ टयाब्लेट आयुर्वेद औषधि दिने गरिन्थ्यो। आइसोलेसनमा साँझ विहानको खाना र दिनको २ पटक खाजा दिइँदो रहेछ।
म आइसोलेसनमा बसेको स्थानमा एक जना किडनीका विरामी पनि कोरोनाबाट संक्रमित रहेछन्। कोरोना जितेर उनि घर फर्केको देख्दा ममा पनि आत्मबल बढयो। यद्यपी, मलाई ज्वरो आउने, रुघाखोकी लाग्ने वा अरु केही पनि लक्षण भने देखिएन। आइसोलेसनमा बस्दा विहान र सांझ डाक्टरहरु आउने, गाह्रो अप्ठयारो सोध्ने गरिरहनुहुन्थ्यो। फोनबाट पनि के कस्तो छ भनी डाक्टहरुले सोध्ने गर्नुहुन्थ्यो।
आइसोलेसनमा विहान योगा प्रणायाम गर्र्थें। दिंउसो गीत संगीत सुन्थे। घरेलु जडिबुटी र तातोपानी नियमित सेवन गरिरहें। बाहिर जे हल्ला चले पनि बेसार, टिमुर, अदुवा, मरिच, लसुन, गुर्जोजस्ता घरेलु जडिबुटीलाई तातोपानीमा राखेर पिउनु नै यसको मुख्य औषधि हो। म त के भन्छु भने स्वस्थ मान्छेले पनि शरिरमा प्रतिरोधात्मक शक्ति बढाउन यी जडिबुटीको नियमित सेवन गर्दा राम्रो हुन्छ। योगा र शारिरिक व्यायामलाई निरन्तरता दिने र घरेलु जडिबुुटीको प्रयोग गर्ने हो भने कोरोना सजिलै जित्न सकिदो रहेछ।
मलाई त कोरोना भनेको रुघाखोकी जस्तो लाग्यो। मान्छेको ज्यान त रुघाखोकी बिग्रियो भनेपनि जान्छ नि। कोरोना संक्रमित भएपनि मनोबल उच्च बनाएर स्वास्थ्यमा ध्यान दिन सक्यौं भने यो रोगसंग डराईहाल्नु पर्दैन।